
झापा, २५ पुस । झापाको दमक नगरपालिका–९ स्थित एक वटा थुप्पा उद्योग र एक वटा घरमा आज आगलागी हुँदा रू एक करोड ३० लाख बराबरको क्षति भएको छ ।
दमक–९ का पदम भण्डारीले सञ्चालन गरेको स्वस्तिक थुप्पा उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आगलागीबाट उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीन तले पक्की घर समेत आगो सल्किँदा घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको प्रवक्ता खड्काले बताउनुभयो ।
आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
उद्योग र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा रू एक करोड ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

