
सन्तोष शर्मा
झापा, १२ माघ । झापामा निपाह भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको छ ।
भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएको समाचारहरु विभिन्न सञ्चारमाध्यममा आइरहेकाले जिल्लामा पूर्व तयारीसहित उच्च सतर्कता अपनाइने भएको हो । निपाह भाइरस पूर्वतयारी तथा सचेतनामूकल कार्य गर्नका लागि आइतबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकमा हेल्प डेक्स सञ्चालन र सचेतनामूलक कार्य गर्ने निर्णय गरिएको छ ।

बैठकले स्वास्थ्य कार्यालय झापाद्वारा निपाह भाइरस सम्बन्धी स्वास्थ्य सचेतनामूलक सन्देश प्रसारण गर्ने, हेल्प डेक्स सञ्चालन भएका स्थानहरुमा व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने, पूर्वी नाका काँकरभिट्टामा सञ्चालनमा रहेको हेल्प डेक्समा भारतबाट प्रवेश गर्ने शंकास्पद सबै जनाको स्क्रिनिङ गरी ज्वरो आएका तथा लक्षण देखिएका बिरामीहरुलाई सुरक्षित साथ आफ्नो घरमा रहने, जटिल समस्या देखिएमा तत्काल मेची प्रादेशिक अस्पतालमा पत्राचार गर्ने र भद्रपुर नाकामा हेल्प डेक्स सञ्चालन गर्न भद्रपुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
“भारतको पश्चिम बंगालमा निपाह भाइरस देखिएको समाचार आइरहेको छ”, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, “जसका कारण झापा जिल्ला पनि अति जोखिम जिल्लाको रुपमा रहेको छ ।” सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको उहाँले बताउनुभयो ।
काँकरभिट्टा नाका र भद्रपुर नाकामा हेल्प डेक्स सञ्चालन गरेर संक्रमितको पहिचान र उनीहरुलाई आइसोलेशनमा राख्ने काम गरिने उहाँले बताउनुभयो । अस्पतालहरुमा समेत आइसोलेशन बेडहरुको व्यवस्था गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य सेवा विभागले भारतको पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमण देखिएका समाचार आइरहेकाले जिल्लामा तत्काल पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन पत्राचार गरेको स्वास्थ्य कार्यालय झापका प्रमुख वृजकुमार दासले जानकारी दिनुभयो ।
महाशाखाले नेपालमा पनि उच्च सतर्कर्ता अपनाउन पर्ने भएकाले कोशी प्रदेशका विराटनगर–रानी, काँकरभिट्टा, पशुपतिनगर नाकाहरुको हेल्थ डेस्कमा लक्षणहरुको आधारमा स्क्रिनिङ गरी आवश्यक प्रेषणका लागि सम्बन्धित आस्पतालमा प्रेषण गर्नुका साथै निपाह भाइरस सम्बन्धी सचेतनामूलक कार्य गर्न पत्राचार गरेको उहाँले बताउनुभयो । “झापाका १५ वटै पालिकामा आवश्यक पूर्वतयारी गर्न पत्रसमेत पठाइसकेका छौं”, उहाँले भन्नुभयो ।

