
झापा, १५ माघ । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।
काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४४ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएका हुन् । पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका छन् ।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए। उनीहरूमध्ये २४ जना अनुपस्थित भएको काउन्सिलले जनाएको छ । यसपटक मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।
यस्तै, डेन्टलतर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए भने परीक्षाको वेला १६८ जना मात्रै सहभागी भए । उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

