
झापा, १८ माघ । झापा क्षेत्र नं. ३ मा १२ वर्षपछि झापा ३ मा एमालेले आफ्नै उम्मेदवार पाएको छ । पार्टीमा अनुशासित र सालिन पहिचान बनाएका हरि बहादुर राजवंशीले उम्मेदवारी दर्तापछि शुभचिन्तकहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । ‘भूमिपुत्र’ नै उम्मेदवार पाएपछि झापा ३ का मतदाता उत्साहित भएको एमाले कार्यकर्ताको धारणा छ ।
फागुन २१ मा हुने निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारहरु आन्तरिक भेटघाटलाई तीब्रता दिइरहेका छन् । यसैबीचमा मतदाताहरुले देखाएको सद्भावले राजवंशी निर्वाचनमा जीत निकाल्ने ठाउँमा पुगेका छन् । एमालेबाट उम्मेदवार बनेका राजवंशीले झापा ३ का मतदाता मत बदल्न आतुर रहेको बताउँछन् । सुर्यमा मतदान गर्न इच्छुक मतदाताहरुको भावना १२ वर्षपछि सम्बोधन भएको उनको भनाई छ । १२ वर्षमा खोला फर्किन्छ भन्थे, राजवंशी भन्छन् – ठ्याक्कै त्यस्तै भएको छ । परिणामले पनि खोला फर्किएको प्रमाणित गर्नेछ ।

चुनावी अभियानमा सक्रिय राजवंशीले आम मतदाता आफ्नो उम्मेदवारीले खुशी भएको बताउछन् । झापा – ३ मा अघिल्लो पटकसम्म सुर्यमा मत खसाल्न पाएनौं भन्ने मतदाताहरुको लागि अवसर प्राप्त भएको छ । सो क्षेत्रमा एमालेले उम्मेदवार नपाए पार्टीमा ठुलो विद्रोहको तयारी भएको थियो ।
एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले आफ्नो पार्टी संगठन निर्माण गरेर अन्य पार्टीको उम्मेदवारलाई मत दिनु व्यवहारिक नभएको स्पष्ट पार्छन् । एमालेले बलियो संगठन बनाएपछि अरु पार्टीको उम्मेदवारलाई सहयोग गर्न आवश्यक नै छैन । उनी भन्छन्, झापा ३ बाहिरबाट हेरे जस्तो मात्र छैन । यो क्षेत्रमा एमालेको बलियो र सुदृढ संगठन रहेको छ । हामी हाम्रो उम्मेदवारलाई विजय गराउने छौं ।’
चुनाव जितेर जनताकै घर आँगनमा रहने राजवंशीको प्रतिवद्धता छ । उनले चुनाव जितेपछि क्षेत्रभन्दा बाहिर नबस्ने बताउदै आएका छन् । ‘आफ्नो प्रतिनिधिलाई भेट्न क्षेत्रका जनताले कुनै कष्ट गर्नुपर्दैन’, उनले भने, ‘झापा ३ को विकासका लागि मतदाताले एमालेको उम्मेदवार चाहेका थिए, ढुक्क भएर मत दिनुहोस् ।’
एमालेको राष्ट्रवादी छविमाथि आम मतदाता समेत खुलेर प्रसंशा गरिरहेको बताउँदै राजवंशीले झापा ३ मा एमालेको विजयी सुनिश्चित भएको बताएका छन् ।

