
भद्रपुर, १९ माघ । झापाको भद्रपुर नगरपालिका–५ स्थित भोजपुर ज्वेलर्समा एक व्यक्तिले नक्कली सुन धरौटी राख्न खोज्दा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गत माघ १५ गते साँझ उदयपुर चौदण्डीगढी नगरपालिका–३ का ४३ वर्षीय जीतबहादुर बिकलाई पसलले शंका गरी वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराएको थियो । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको र उनलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि कार्यालयमा ल्याइएको हो ।

माघ १६ गते थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको र मुलुकी अपराध संहिता २०७४ अनुसार ठगी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा अभियुक्तले यसअघि पनि बिर्तामोड क्षेत्रका विभिन्न सुन पसलमा “सक्कली गहना हो, आपतकालीन अवस्थामा बन्दकी राख्न लागेको” भन्दै नगद लिई ठगी गरेको तथ्य खुलेको छ ।

