
काठमाडौँ, १७ पुस । नेपालका युवा स्पीनर सन्दिप लामिछानेले आज चर्चित लिग बिग ब्यास लिग (बीबीएल) मा चौथो खेल खेल्दैछन्।
संसारकै सबैभन्दा ठूलो क्रिकेट ग्राउण्ड अर्थात मेलबर्न क्रिकेट ग्राउण्डमा हुने आजको खेलबाट नयाँ वर्षको पहिलो दिन नेपाली बलर लामिछानेले डेब्यू गर्ने छन्। बिग ब्यास लिगमा यसअघि मेलबर्न स्टार्सबाट तीन खेल खेलिसकेका सन्दिपको मेलबर्न क्रिकेट ग्राउण्डमा भने पहिलो पटक डेब्यू गर्न लागेका हुन्। यसअघि उनले यस मैदानमा कुनै पनि खेल खेलेका थिएनन्। आज मेलबर्न रेनेगेड्सविरुद्ध हुने लामिछाने समेलित मेलबर्न स्टार्सले बिग ब्यास लिगमा चौथो खेल खेल्दैछ। संसारकै ठूलो क्रिकेट ग्राउण्डमा नेपाली स्टार लामिछानेको हौसला बढाउनका लागि नेपाली टिमका कप्तान पारस खड्का पनि खेल हेर्न सहभागी हुनेछन्।

मेलबर्नमा मेलबर्न रेनेगेड्सविरुद्धको आफ्नो खेलको अघिल्लो दिन ‘न्यू इयर इभ’मा मेलबर्न स्टार्सले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा सन्दिपले आत्मविश्वासपूर्वक भनेका थिए, ‘म मेलबर्न स्टार्स परिवारमा गर्वसाथ पारस खड्कालाई स्वागत गर्न चाहन्छु’ ‘पारस खड्का, मेरो राष्ट्रिय टिम नेपालका कप्तान।’ संसारकै अत्याधिक छिटो क्रिकेटको विकास भइरहेको देश नेपाल, जसले हालै इतिहासमै पहिलो पटक एकदिवसीय क्रिकेटको मान्यता पाएको छ, त्यो देशका कप्तान पारस खड्काको पूर्वयोजना बिनाको उपस्थितिले मेलबर्न स्टार्सका अधिकारीहरुको पनि चासो बढेको छ।
पारसको यो उपस्थितिले मेलबर्न क्रिकेट ग्राउण्डमा नेपाली फ्यानहरुको ठूलो उपस्थिति रहने संकेत गरेको छ जहाँ संसारकै ठूलो क्रिकेट ग्राउण्डमा नेपाली स्टार सन्दिपले डेब्यू गर्दैछन् र उनको हौसला बढाउनको लागि उनका कप्तान पारस खड्का स्वयं ग्राउण्डमा हुनेछन्। सन्दिपले बिग बाशलाई एउटा ठूलो क्रिकेट फ्यानको जमातका लागि आकर्षणको केन्द्र बनाइदिएका छन्। अहिले ६० हजारभन्दा बढी नेपालीहरु अस्ट्रेलियामा बस्दै आएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
