
शिवसतासक्षी, १० जेठ । झापाको शिवसताक्षीमा जारी चौथो स्व।कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शनिबार भएको खेलमा दुधे भेट्रान र पुर्वेली भेट्रान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आयोजक दुधे भेट्रान र पुर्वेली भेट्रानले जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन्।
प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा आयोजक दुधे भेट्रान र फिदिम भेट्रानबीच निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा दुधे भेट्रान भाग्यमानी बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भयो।
निर्धारित समयमा दुधेका लागि किसान शर्मा र बिनोद खरेलले गोल गरेका थिए भने फिदिमका डा। देउमान लिम्बू र राजन सुब्बाले गोल फर्काएका थिए।
ट्राइब्रेकरमा दुधे भेट्रानका मिलन राई, सन्तोष थोप्रा, सन्तोष नेम्वाङ, पूर्ण लिम्बू, रबिन राई र केशन शर्माले सफल प्रहार गरे। फिदिमका मिलन जबेगु, सन्दीप श्रेष्ठ, अनन्त राई, अनिल चुडाल र राजकुमार मादेनले गोल गरे पनि भुपेन्द्र थापा मगरको प्रहार बाहिरिएपछि फिदिम प्रतियोगिताबाट बाहिरियो। खेलको म्यान अफ दि म्याच दुधे भेट्रानका मिलन राई घोषित भए।
त्यसैगरी पहिलो क्वाटरफाइनल खेलमा कनकाइ भेट्रान र पुर्वेली भेट्रानबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। खेलको १७औं मिनेटमा मित्र प्रसाद श्रेष्ठले गोल गर्दै कनकाइलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा पुर्वेलीले उत्कृष्ट पुनरागमन गर्यो।
खेलको ४६औं मिनेटमा सन्तोष बस्नेतले बराबरी गोल फर्काए भने ४८औं मिनेटमा सन्तोष राईले गोल गर्दै पुर्वेलीलाई अग्रता दिलाए। थप समयमा सन्तोष बस्नेतमाथि भएको फउलपछि प्राप्त पेनाल्टीलाई सन्तोष राईले सदुपयोग गर्दै पुर्वेलीको जित सुनिश्चित गरे। खेलको म्यान अफ दि म्याच पुर्वेली भेट्रानका सन्तोष बस्नेत घोषित भए।
प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो क्वाटरफाइनल खेलमा दमक लखनपुर भेट्रान र बिर्तामोड भेट्रानबीच प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार अब प्रतियोगितामा दैनिक एक मात्र खेल सञ्चालन गरिनेछ।


