
झापा, १७ जेठ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु, सुर्ती उद्योगका रणनीतिबारे जानकारी गराउनु तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु हो।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) सदस्य राष्ट्रहरूले सन् १९८७ मा सुर्तीजन्य पदार्थका कारण विश्वव्यापी रूपमा बढ्दो रोग र रोक्न सकिने मृत्युदरप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८८ देखि हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाउन थालिएको हो।
डब्ल्युएचओका अनुसार विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। पछिल्ला वर्षहरूमा यसको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न छन्।
सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको डब्ल्युएचओले जनाएको छ।
यस वर्षको दिवसका अवसरमा डब्ल्युएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष पहल गर्न आग्रह गरेको छ। सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब ३ करोड ७० लाख बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। साथै, विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ तीव्र रूपमा बढिरहेको छ।
डब्ल्युएचओले सुर्ती तथा निकोटिनजन्य उत्पादन बनाउने कम्पनीहरूले आफ्ना उत्पादनलाई आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेको जनाएको छ। विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत किशोर र युवालाई लक्षित गरिएको डब्ल्युएचओको भनाइ छ।
डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि उद्योगहरूले नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने रणनीति अपनाइरहेको बताउनुभएको छ। उहाँका अनुसार स्वादयुक्त ई–सिगरेट र निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवालाई विशेष रूपमा प्रभावित गरिरहेको छ।
निकोटिन अत्यधिक लत लाग्ने तथा स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर र युवामा यसको असर गम्भीर हुन सक्ने डब्ल्युएचओले चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ।
हालै सार्वजनिक गरिएको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ। आकर्षक प्याकेजिङ, विभिन्न स्वाद र जीवनशैलीसँग जोडिएका विज्ञापनमार्फत युवालाई लक्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ।
डब्ल्युएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियामक व्यवस्था छैन। पर्याप्त नियमन नहुँदा यसको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यसले लाखौँ मानिसलाई जोखिममा पारेको चेतावनी दिइएको छ।
डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।
सङ्गठनले सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


