
सन्तोष शर्मा
कनकाई, १७ जेठ । झापाको कनकाई नगरपालिकामा ‘कनकाई बहुउद्देश्य भवन’ निर्माणका लागि ठेक्का लागेको छ ।
तीन तले बहुउद्देश्यीय भवनको ३० करोड ३७ लाख ९२ हजार १८६ रुपैयाँ ५४ पैसा बराबरको डीपीआर तयार गरी पहिलो चरणमा भुइँ तला निर्माणका लागि ठेक्का लागेको हो ।
डीपीआरको विस्तृत अध्ययन पछि बहुउद्देश्यीय भवन निर्माणको चरणमा प्रवेश गरेको कनकाई नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । “पहिलो चरणमा भुइँ तला निर्माण सक्ने योजना छ”, उहाँले भन्नुभयो, “पहिलो तलाका लागि ठेक्का लागेको छ ।”
पहिलो तलाको करिब ६ करोड ४२ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि भ्याट र पीएससहित ५ करोड ४ लाख ६० हजार ४०६ रुपैयाँ ४२ पैसामा मा ठेक्का लागेको छ । निशान–एलेक्स–एसजे फेट्टीले भवन निर्माणको ठेक्का पाएको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेबेले जानकारी दिनुभयो ।
कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कित्ता नं. २६१ को ७ कट्ठा ३.५ धुर जग्गामा निर्माण हुन लागेको बहुउद्देशीय भवनको डीपीआर प्रतिवेदन गत कात्तिक २३ गते बसेको कार्यपालिका बैठकमा पेश भएको थियो । प्रतिवेदनमाथि छलफलपछि निर्माण चरणमा प्रवेश गरेको छ ।
नगरको गौरवको योजना
नगरको गौरवको आयोजना अन्तरगत बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण गर्न लागिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो । भवन निर्माण भएसँगै नगरको एउटा महत्वपूर्ण पूर्वाधार बन्नुका साथै बजार व्यवस्थित हुने नगरप्रमुख पोखरेल बताउनुहुन्छ । नगरको दीगो आम्दानीको स्रोत समेत हुने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
सिनेमा हल र रेष्टुरेन्ट पनि
बहुउद्देशीय भवनमा ७२ वटा व्यावसायिक सटर, एक वटा सिनेमाहल र एक वटा रेष्टुरेन्ट समेत हुने छन् । नगरपालिकाका इन्जिनियर विशाल थेबेले भवनको भूँइ तला ९ हजार ९३४.३८ वर्ग फिटको निर्माण हुनेछ । जसमा ३२ वटा व्यावसायिक सटर हुनेछन् ।
त्यस्तै, पहिलो तला १० हजार ४४६ वर्गफिटको हुनेछ । जसमा २२ वटा व्यावसायिक सटरसहित एउटा रेष्टुरेन्ट रहने गरी डिजाइन गरिएको छ भने दोस्रो तलामा १८ वटा व्यावसायिक सटरसहित १४४ जना क्षमताको सिनेमाहल रहने इन्जिनियर थेबेले जानकारी दिनुभयो । पार्किङका लागि भवनको दक्षिणतर्फ ठाउँ छोडिने उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


