
झापा, १७ जेठ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा चार नेपाली र नौ विदेशी पर्यटक रहेका छन्। उनीहरू मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेका बेला उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण लेक लागेर बिरामी भएका थिए।
प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु भएका सबै पर्यटकको उपचारका क्रममा प्रदेश अस्पताल जोमसोममा ज्यान गएको हो। लेक लागेर मृत्यु हुनेमध्ये अधिकांश भारतीय पर्यटक रहेका छन्।
समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा अक्सिजनको मात्रा कम हुने भएकाले पर्याप्त सावधानी नअपनाउँदा पर्यटकहरूमा लेक लाग्ने समस्या देखिने गरेको छ।
लेक लाग्ने जोखिम न्यूनीकरणका लागि स्थानीय तह, प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, सुरक्षा निकाय तथा मुक्तिनाथ विकास समितिले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। मुक्तिनाथ क्षेत्रमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ समेत सञ्चालनमा रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


