राजेन्द्र गौतम
एउटा संसय थियोे गगन थापा चितवन जान्छन् कि जाँदैनन् । त्यही संसयलाई बाह्य शंकामा रुपान्तरित गर्दै अतिथि भएर कांग्रेस सभापति गगन थापा चितवन गए। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा आफ्नो र पार्टीको धारण राखे अनि काठमाडौ फर्किए । उनी काठमाडौबाट चितवन गएनन् मात्रै उनले रास्वपा महाधिवेशनमा जुन मत राखे त्यसले नेपाली राजनीतिमा एउटा ऐतिहासिक घटनाको आकार ग्रहण गर्दैछ । चितवनको सहिद मूमिमा उभिएर गगनले गगनभेदी स्वरमा भने ” कृपया ३५ वर्षमा केही भएन नभन्दिनु होला ! ” औसत बुझाईमा यो सामान्य तर्क हो , जुन हामीले धेरै गरेका छौँ । हामीले बुझ्ने औसत बुझाइ पनि यही हो । उनले ३५ वर्षमा यो भयो, त्यो भयो भनेनन्, एक वाक्यांशमा सके, ” गर्न सक्ने जति गर्न सकेनौं तर धेरै भएको छ । “
गगनको यो भनाइमा तथ्य छ । बितेका ३५ वर्षमा धेरै गर्न सकिन्थ्यो तर गर्न सकिएन । खुल्ला मञ्च र सार्वजनिक ठाउँमा उभिएर आफ्नाहरुले र आफूले गरेको गल्ती स्वीकार्न सक्ने सामर्थ्य औसत मानिसमा हुँदैन । गगन औसत मानिसभन्दा भिन्न छन् । जो उनले रास्वपा महाधिवेशनमा राखेको अभिव्यक्तिले पुनः एकपटक प्रमाणित गरिदिएको छ । गगनले कर्म गरे तर कर्मको फल प्राप्त गर्न सकेनन् , सकेका छैनन् । यो मानेमा उनी अभागी हुन । तर, सम्भावनाका ढोका कहिल्यै बन्द हुँदैन भन्ने मत उनको अभिव्यक्तिले अन्तरनिहीत छ । गगनको गर्बिलो आग्रहले भन्छ , ” पर्खिनु पर्छ, समय आउँछ, छोटै समयमा तपाईंहरुले प्राप्त गर्नुभयो, हामीले बाँकी छ ।”
गगनले जति बोले प्रत्येक घटना अन्तर्यका शब्द बोले । उनले रास्वपा नेतृत्वलाई ऐतिहासिक जिम्मेवारी त्यसरी बोध गराए कि कोही कसैले इतिहासलाई कमजोर आँक्न मिल्दैन । “तपाईंहरुले चितवनलाई नै निलो बनाउनुभयो,त्यो रास्वपाको अधिकार हो। ” अघिकार कसरी प्राप्त भयो त्यो पनि गगनले बुझाए, जहाँबाट रास्वपा पछि फर्कनै सक्दैन । व्यवस्था परिवर्तनको पक्षमा ठिंग उभिएका मानिसलाई छपाछप छप्काएर चितवनको भूमिमा पञ्चायले गाडेको नरसंहारका बारेमा नसुबेका रास्वपा नेता – कार्यकर्ताले सुन्ने मात्रै होइन, बुझ्ने अवसर पनि पाए । त्यो बुझाईले रास्वपाको आन्तरिक जीवनमा नयाँपन भित्र्याउने छ । विगतमा यो भएन, त्यो भएन भन्ने ठूलो पंक्ति रास्वपामा छ। त्यो पंक्तिलाई स्पोर्टमा बुझाउने तागत आफू र कांग्रेससँग भएको गगनले रास्वपा महाधिवेशनबाटै सिद्ध गरिदिए । उनले निलो प्रसंशामा रातो रगतको सम्मान गरे । र, बुझाए देशका लागि बगेको रगतको सम्मान गर्न नसके आवरणमा गरिएका रंगरोगन चर्मचक्षु आँखाको प्यास मेटाउने सजावटमा सीमित हुन्छन् ।
गगन चितवन नगएको भए नेपाली राजनीतिमा थुप्रै सुप्त प्रश्न सल्बलाई रहन्थे । सबै प्रश्न किनाराकृत भएनन् होला ! तर, हात मिले, अंकमाल कसियो । गगनले संसदमा बोलेको प्रमाणको प्रसंग गगन – रविको जीवन पर्यन्त रहन्थ्यो । त्यो प्रमाणको प्रसंग धुजाधुजा भएर च्यातियो । यो च्यात्न तागत चाहिथ्यो। गगनले हिम्मत गरे, धर्यात्तै च्यातिदिए । त्यो ऐतिहासिक साइत रास्वपाले जुराइदिएको हो । रास्वपा महाधिवेशन स्थलमा गगन प्रवेश गर्दा सबैलाई लागेको थियोे उनी कमजोर बनेर फर्कने छन् । तर, त्यो अड्कल केही मिनेट पनि टिकेन । गगन शक्तिशाली बनेर मञ्चबाट उत्रिए। गगनले नेपाली राजनीतिका धेरै पाटा क्षणभरमा खोलिदिए । गगनको चितवन अभिव्यक्तिबाट कांग्रेस भित्रको हिजोको आन्तरिक संघर्षको जालो मात्रै उदाङ्गो भएन वर्तमानको वास्तविकता पनि खुल्यो । कांग्रेसको भावी योजना र लक्ष्य पनि स्पष्ट भयो ।
आलोचना र समर्थनका आआफ्नै नियम, परिधि र सीमा हुन्छन् । त्यो सर्वज्ञका लागि हो । यति चाहिँ फ्याट्ट भन्न सकिन्छ – गगनको चितवन अभिव्यक्ति नेपाली राजनीतिमा अर्थपूर्ण र परिपक्व कदम हो । विशेष गरी नयाँ र पुराना दलबीच तीव्र ध्रुवीकरण र तिक्तता बढिरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापतिले नयाँ दलको महाधिवेशनको मञ्चमा उभिएर गरेको आत्मसमीक्षा र सुझावलाई अर्थपूर्ण रूपमा हेरिनु पर्छ । त्यो नै सान्दर्भिक हुन्छ । बा र भगवान संस्कृतिको आलोचना तथा आत्मसमीक्षा गगन अभिव्यक्तिको शक्तिशाली पाटो हो । स्थापित दलहरू भित्रको व्यक्तिपूजा र बा संस्कृतिको खुल्ला आलोचनाले गगनलाई छुट्टै कित्तामा उभ्याइदिएको छ । “हामीले आफ्ना पार्टीका नेताहरूलाई भगवान् बनायौँ, उहाँहरूलाई बा बनाएर गल्ती गर्यौँ, तपाईंहरू त्यो गल्ती नदोहोर्याउनुहोस्।” गगन अभिव्यक्तिको यो वाक्यांश “गगन” जस्तै उच्च छ । यो त्यस्तो आत्मसमीक्षा हो, जो स्पष्ट लक्ष्यमा अघि बढेका मानिसले मात्रै गर्न सक्छ । अक्सर मानिसको दिमागले यो सोच्दैन र बोल्न आँट पनि गर्दैन ।
गगनको चितवन अभिव्यक्ति नेपाली राजनीतिको एउटा साहसिक आत्मस्वीकारोक्ति पनि हो । नेतृत्वलाई अन्धभक्तिका साथ स्वीकार्ने प्रवृत्तिको निरन्तर विरोध गरेका गगनले रास्वपाका कार्यकर्तालाई आफ्नै नेतृत्वमाथि निरन्तर प्रश्न उठाउन प्रेरित गर्नु अनुभवको उपलब्धि हो । गगनको यो तर्कले राजनीतिमा अन्धभक्त होइन, सचेत नागरिक र कार्यकर्ता अत्यावश्यक हुन्छन् भन्ने सन्देश दिएको छ। यसबाहेक चितवन अभिव्यक्तिले थुप्रै सन्देश दिएको छ । त्यो मनन गर्ने, नगर्ने, बुझ्ने, नबुझ्ने आआफ्नो चेत हो । तर सत्य चाहिँ जनमतको सदुपयोग र शक्ति सन्तुलनको नै हो । पुराना दलहरूले विगतमा बहुमत पाएर पनि आन्तरिक कलह, अहङ्कार र शक्तिको दुरुपयोग हरेकै कारण जनताको विश्वास गुमाएको कुरा कहिँकतै छुपेको छैन । जो गगनले सतहमा ढोलिदिए, यो नैतिक साहस हो । जसबाट उनको आगामी मार्ग प्रष्ट रहेको प्रमाणित हुन्छ । गगनको अभिव्यक्ति जनमतको सीमितता बोधको नमुना पनि हो । जनमतले शक्ति त दिन्छ, तर शक्तिको पनि आफ्नै सीमा हुन्छ । यो तथ्य नयाँ दलले बुझ्नु मात्रै गगनको अभिव्यक्तिको सार होइन, विगत र भविष्यको स्पष्ट राजनीतिक खाका पनि हो ।
कांग्रेस पटकपटक दुर्घटना बेहोरेको पार्टी हो । गगनले त्यो दुर्घटनाबाट जोगिने सुझाव पनि रास्वपालाई दिएका छन् । परम्परागत दलहरू जस्तै गल्ती दोहोर्याए रास्वपा पनि त्यस्तै राजनीतिक दुर्घटनामा पर्न सक्छ भनेर समयमा नै सचेत गराउनुलाई राजनीतिक वृत्तकै सकारात्मक र रचनात्मक कर्म हो । यसलाई राजनीतिक अभिभावकत्वको रूपमा लिइनु उपयुक्त हुन्छ । नेपाली राजनीतिमा लास र दासको प्रसङ्ग जोडर गगनले पार्टी भित्र प्रश्न सोध्ने संस्कृतिको अभाव हुनु नै लोकतन्त्र कमजोर हुनु हो भन्ने मत राखेका छन्, जुन सन्देशका लागि होइन, सुधारका हो । त्यो सबैका लागि ग्रहण योग्य छ । कांग्रेस लास र दासहरूको पार्टी होइन भनेर आफूहरूले समयमै भन्न नसक्दा आज सजाय भोग्नु परेको गगनको स्वीकारोक्तिले तथ्यको बोध मात्रै होइन आत्मसमीक्षाको पटाक्षेप पनि गरेको छ । गगनको तर्कले रास्वपालाई मात्र होइन, कांग्रेस,एमाले, नेकपा जस्ता स्थापित दल भित्र खस्कँदै गएको आन्तरिक लोकतन्त्रको अवस्थाको चित्रण मात्र गरेको छैन, पेचिलो प्रहार पनि गरेको छ ।
यतिबेला नेपाली राजनीतिमा बहुआयामिक प्रभाव छ। पुराना दल र नयाँ शक्ति बीच कित्ता काट गर्ने प्रयास पनि भइरहेकै छन् । अहिले रास्वपा र बालेन शाह बीच पनि कहिँ न कहिँ बेमेलको स्थिति छ भनेर भित्री प्रचार पनि गरिँदै थियोे । तँ-तँ र म-मको स्थितिमा पुर्याउन सकिन्छ कि भनेर त्यसो गरिएको हो । यो फरक नपर्ने अड्कल हो । त्यही परिवेशमा गगनले रास्वपा महाधिवेशनकै मञ्चबाट सौहार्दपूर्ण रूपमा शुभकामना र सुझाव दिनुले नेपाली राजनीतिमा प्रतिस्पर्धा बीच पनि लोकतान्त्रिक सहकार्य र विमर्शको वातावरण कायमै छ भन्ने बलियो सन्देश दिएको छ। गगनको अभिव्यक्तिले बदलिँदो राजनीतिक भाष्यलाई चिर्न सफल भएको छ । गगनको यो अभिव्यक्तिले आगामी दिनमा कार्यकर्ता र जनतालाई आफ्ना नेताहरूसँग प्रश्न सोध्ने र जबाफदेही बनाउने एउटा नयाँ वैचारिक बहसको सुरुवात पनि गरिदिएको छ।
समग्रमा गगनको चितवन अभिव्यक्तिलाई आफ्नो गल्ती स्वीकार्दै नयाँ पुस्तालाई सच्चिएर अघि बढ्न प्रेरित गर्ने एउटा परिपक्व, सन्तुलित र रूपान्तरणकारी राजनीतिक सम्बोधनका रूपमा हेरिनु उपयुक्त हुन्छ । यसले मुलुकको परिवर्तित राजनीतिक विकास र नेपाली कांग्रेसलाई बुझ्न थप सहयोग पुग्छ । गगनको चितवन अभिव्यक्तिले नेपाली राजनीतिमा युवा नेतृत्वको भूमिका र समकालीन राजनीतिक सन्दर्भलाई स्पष्ट पारेको छ । गगनको चितवन सम्बोधनलाई लिएर तत्काल सकारात्मक प्रतिक्रिया आएका छन् । सँगै नेपाली राजनीतिक वृत्त, सञ्चारमाध्यम र विश्लेषकहरुले यसका थप आयाम, अन्तर्य र सम्भावित असरमाथि गहन टिप्पणी गर्ने मौका जुराई दिएको छ । यो सम्बोधनले सतहभन्दा कांग्रेसभित्रको आन्तरिक कलह र असन्तुष्टिलाई उजागर गरिदिएको छ । आफ्नो पार्टीको कमजोरीलाई यसरी खुला रूपमा स्वीकार गर्नुले सबैखाले बहसलाई एकसाथ सतहमा ल्याइदिएको छ । कांग्रेस सभापति गगनले रास्वपाको मञ्चमा उभिएर आफ्नै पार्टीको विगत माथिको निर्मम प्रहार र आत्मसमीक्षालाई कांग्रेसभित्रकै संस्थापन इतर पक्षले सहज रूपमा स्वीकार्ने देखिँदैन । यसले गगन थप आन्तरिक जोखिम उठाउन र बाँकी सुधार गर्न तयार रहेको स्पष्ट पारिदिएको छ ।
प्रतिस्पर्धी पार्टीको महाधिवेशनमा गएर आफ्नै पार्टीको विगतको यसरी आलोचना गर्दा कार्यकर्ताको मनोबल गिर्ने तर्क पनि सुरु भएकै छ । तर, त्यो झिनो हुने देखिन्छ । गगनको अभिव्यक्तिले यो भावी राजनीतिक समीकरणको रणनीतिक चाल हो कि भन्ने अनुमान र अड्कल गर्न प्रसस्त ठाउँ छोडिदिएको छ । गगन अभिव्यक्तिको खास अन्तर्य पनि यही हो । यो अभिव्यक्तिलाई केवल नैतिक उपदेशमा मात्र लिइनु हुँदैन । यसको पछाडि दूरगामी राजनीतिक रणनीति छ , छैन भनेर खोज्न सक्नुपर्छ । रुपान्तरित कांग्रेस र रास्वपा दुवैको मुख्य भोट युवा, शिक्षित र सहरी क्षेत्रकै मतदाता हुन्। रास्वपासँगको शत्रुतापूर्ण सम्बन्धलाई भविष्यमा सौहार्दपूर्ण बनाउने एउटा रणनीतिक प्रयासका रूपमा गगन अभिव्यक्तिलाई लिइनु पर्छ । यो कांग्रेस- रास्वपा सम्बन्ध बिस्तार र भविष्यमा सहकार्यको ढोका खोल्ने कडी पनि हो ।
आमनागरिक र सामाजिक सञ्जालमा गगनको सम्बोधनलाई लिएर रुखा टिप्पणीहरू नआएका पनि होइनन् । कतिपयले भाषण र व्यवहार बीचको विरोधाभासको रूपमा नअर्थ्याउलान् पनि भन्न सकिन्न । गगनको अभिव्यक्तिलाई कांग्रेसभित्रको आन्तरिक शक्ति टकरावको प्रकटीकरणका कोणबाट पनि हेर्न सकिन्छ । यो अभिव्यक्तिलाई लिएर गगनको सदाबहार लोकरिझ्याइँ र उत्कृष्ट भाषण कलाको अर्को एउटा नमुना रूपमा पनि टिप्पणी गर्न सुरु भएको छ । नीति र सिद्धान्त सही हुँदाहुँदै पनि काँग्रेस भित्रको बेथिति र भागबन्डाको राजनीतिलाई गगनको अभिव्यक्तिले टेवा पुर्याउने देखिन्छ । गगनको चितवन अभिव्यक्ति कांग्रेस र रास्वपाका लागि ऐना र चुनौती दुबै बनेको छ ।
गगनको यो अभिव्यक्तिले रास्वपाका नेता, कार्यकर्तालाई एउटा ठूलो ऐना देखाइदिएको छ । साथै रास्वपा भित्रको व्यक्ति पूजा र अन्धभक्तिलाई दह्रो झापड हानेको छ । गगनको अभिव्यक्ति आफ्नालाई प्रश्न नसोध्ने रास्वपाका नेता, कार्यकर्ताका लागि आत्मसमीक्षा गर्ने बलियो अवसर र चुनौती दुवै हो। निष्कर्षमा भन्नुपर्दा गगनको अभिव्यक्तिले नेपाली राजनीतिमा प्रतिस्पर्धी दलहरू बीच हुनु पर्ने स्वस्थ वैचारिक संवादको सुरुवात गरिदिएको छ । कांग्रेस – रास्वपाका लागि मात्रै होइन यो चाहिँ देशकै लागि सुखद सन्देश पनि हो ।


