झापा, २ साउन । झापामा दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत स्थलगत गणना सम्पन्न भएको छ। गणनाअनुसार जिल्लाभरि ६० हजार ६५४ आर्थिक प्रतिष्ठान (व्यवसाय, उद्योग, संघ–संस्था लगायत) दर्ता भएका छन्।
जिल्ला आर्थिक गणना कार्यालय भद्रपुरका निर्देशक तथा आर्थिक गणना अधिकारी चूडामणि लुइँटेलका अनुसार असार मसान्तसम्म भद्रपुर आर्थिक गणना कार्यालयबाट ३३ हजार १०३ र दमक आर्थिक गणना कार्यालयबाट २७ हजार ४४४ प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ। यसबाहेक १०७ प्रतिष्ठानले अनलाइनमार्फत विवरण बुझाएका छन्।

गणनाअनुसार ती प्रतिष्ठानमा १ लाख ८९ हजार ७ जना व्यक्ति तलबी तथा स्वरोजगारमा आबद्ध रहेका छन्।
स्थानीय तहअनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ११ हजार ६७५ प्रतिष्ठान रहेका छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम १ हजार ४४ प्रतिष्ठान रहेका छन्।
त्यसैगरी, मेचीनगरमा १० हजार १३६, दमकमा ८ हजार १७४, भद्रपुरमा ४ हजार १८४, अर्जुनधारामा ३ हजार ७८४, बुद्धशान्तिमा ३ हजार ६३३, कनकाईमा ३ हजार ५६४, शिवसताक्षीमा ३ हजार ४५४, गौरादहमा २ हजार ५५९, कचनकवल र कमल गाउँपालिकामा समान १ हजार ९३७, बाह्रदशीमा १ हजार ५६६, हल्दिबारीमा १ हजार ५३८, गौरीगञ्जमा १ हजार ३६२ तथा झापा गाउँपालिकामा १ हजार ४४ प्रतिष्ठान गणना भएका छन्।
आर्थिक क्रियाकलापका १७ वटा क्षेत्रअन्तर्गत पर्ने साना, मझौला र ठूला सबै प्रकारका आर्थिक एकाइलाई गणनामा समेटिएको थियो। दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत गणना वैशाख २ गतेदेखि सुरु भई असार मसान्तमा सम्पन्न भएको हो।



