पर्सा, ५ साउन । कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष सञ्जय पटेल पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई आज बिहान कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको खोजी भइरहेको जनाएको छ।
गत असार २३ गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँ कार्यपालिकाको कार्यालयभित्रै वडाध्यक्ष पटेलसहितको समूहले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप छ।
घटनापछि कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै असार २४ गतेदेखि आन्दोलन सुरु गरेका थिए।
प्रहरीले पक्राउ परेका वडाध्यक्ष पटेलविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी भइरहेको जनाएको छ।



