झापा, १३ साउन । सरकारले महिला कर्मचारीले पाउने सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्याउने प्रस्ताव अघि सारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।
मन्त्रालयले साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार तयार गरिएको मस्यौदा विधायन ऐन, २०८१ को दफा ६ बमोजिम सार्वजनिक गर्दै सर्वसाधारणको राय तथा सुझाव मागेको छ। इच्छुक व्यक्ति वा संस्थाले साउन १२ गतेभित्र आफ्नो सुझाव पेश गर्न सक्नेछन्।

प्रस्तावित संशोधनअनुसार ऐनको दफा १३ को उपदफा (१) मा रहेको ‘कम्तीमा ९८ दिन’ भन्ने व्यवस्थालाई हटाएर ‘६ महिना’ बनाइनेछ। यो संशोधन पारित भएमा सरकारी कार्यालयका साथै निजी क्षेत्रमा कार्यरत महिला कर्मचारीले पनि ६ महिनासम्म सुत्केरी बिदा पाउने व्यवस्था लागू हुनेछ।
हाल श्रम नियमावलीअनुसार महिला कर्मचारीले सुत्केरी हुनुअघि वा पछि ९० दिनसम्म तलबसहितको बिदा पाउने व्यवस्था छ। यस्तै, पुरुष कर्मचारीले पनि तलबसहित १५ दिनको सुत्केरी स्याहार बिदा पाउँदै आएका छन्।
विद्यमान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३(३) मा बच्चा दुई वर्षको नहुँदासम्म कार्यालय समयमा स्तनपान गराउन आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान पनि रहेको छ।
त्यसैगरी, ऐनको दफा १४ अनुसार सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत महिलाले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार प्रजनन स्वास्थ्यसम्बन्धी जटिल शल्यक्रिया गर्नुपर्ने अवस्थामा शल्यक्रियाअघि वा पछि कम्तीमा ३० दिनको तलबसहित अतिरिक्त बिदा पाउने व्यवस्था यथावत रहनेछ।



