विराटनगर, १४ साउन । मोरङको विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी २४ वर्षीय सुशान्त खड्का रहेका छन्।
प्रहरीका अनुसार साउन १३ गते बेलुका करिब ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको टोलीले प्रस्थान केन्द्रको एक्स–रे (X-Ray) मेसिन मार्फत कार्गो सामान जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो। एक्स्पो एक्सप्रेस (Expo Xpress) कुरियर मार्फत विराटनगर–९ महेन्द्रचोकका राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताभित्रको सोलमा प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध बरामद भएसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा कुरियरकर्ता सुशान्त खड्कालाई विमानस्थलबाटै पक्राउ गरिएको हो। घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ भने पक्राउ परेका खड्कामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



