झापा, १४ साउन । झापाको भद्रपुर नगरपालिका–४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् ।
बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उनलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको छ । हात्तीबाट बालि जोगाउनका लागि लगाइएको तारमा कुल्चदा करेन्ट लागेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।
मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा प्रभावित जिल्ला झापामा प्रत्येक वर्ष हात्तीको आक्रमणबाट मानिस र वन्यजन्तु दुवैले ज्यान गुमाउने गरेका छन् । त्यसैको प्रतिकारस्वरूप कतिपय किसानले राति हात्ती धपाउन घरायसी विद्युत् सिधै नाङ्गो तारमा प्रवाह गर्ने गरेका छन् । यस्ता तारहरू कानुनी रूपमा निषेधित भए पनि ग्रामीण क्षेत्रमा अझै प्रयोग भइरहेको पाइन्छ ।



