झापा, १५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा सरकारबीच सातबुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा भएको सहमतिअनुसार सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सहमतिपत्रमा घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने उल्लेख छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।
यस्तै, प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने तथा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि सहमतिमा समेटिएको छ।
सहमतिपत्रमा मृतकका परिवारका तर्फबाट अभिभावकहरू तथा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ। साथै, दुवै मृतकको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ।




