झापा, १५ साउन । कुवेतको उत्तरी क्षेत्रमा भएको इरानी ड्रोन आक्रमणमा ज्यान गुमाउने नेपाली नागरिकको परिचय खुलेको छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुने व्यक्ति तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङ हुन्।
दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सवारी चालकका रूपमा कार्यरत तामाङको २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा मृत्यु भएको हो। कुवेतको परराष्ट्र मन्त्रालयबाट उनको निधन भएको आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

दूतावासले तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, उनको पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न, सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न दूतावासले अनुरोध गरेको छ।



