झापा, १७ साउन । संखुवासभा र मोरङका दुई फरक स्थानबाट प्रहरीले लुकाइछिपाइ राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक तथा बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको छ।
संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद बरामद गरेको हो। साउन १६ गते गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट खटिएको टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त सामग्री फेला पारेको प्रहरीले जनाएको छ।

यस्तै, मोरङको उर्लाबारी नगरपालिका–१ कट्लेस्थित श्री जनज्योति सामुदायिक वनबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले १ थान भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट तथा ४५ ग्राम ८८० मिलिग्राम बारुद बरामद गरेको छ। विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा बोराभित्र लुकाइराखिएको अवस्थामा ती सामग्री फेला परेको प्रहरीले जनाएको छ।
बरामद भएका हतियार तथा सामग्री कसले र किन लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



