
झापा, ४ भदौ । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ती घटनाबाट रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको छ। विपद्का घटनामा परी दुई जना घाइते भएका छन् भने तीन जनाको सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।
प्रहरीका अनुसार साउनमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। जिल्लाका विभिन्न स्थानमा भएका पाँच वटा आगलागीबाट रु १९ लाख ३० हजार बराबरको धनमाल क्षति भएको छ।
त्यसैगरी, जङ्गली जनावरको आक्रमणका १७ वटा घटना दर्ता भएका छन्। ती घटनामा दुई जना घाइते भएका छन्। चट्याङका घटनाबाट मात्रै रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवालेले मनसुनजन्य तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्लाभर प्रहरी जनशक्तिलाई उच्च सतर्क अवस्थामा राखिएको बताए।


