झापा, २२ भदौ । झापामा प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित पक्राउ गरेको छ। भद्रपुर र झापा गाउँपालिकाबाट पक्राउ परेका उनीहरूको साथबाट २२ ग्राम ३६० मिलिग्राम लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
भदौ २२ गते भद्रपुर नगरपालिका–३ स्थित झोलुङ्गे पुलछेउमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल, नेपाल बीओपी महेशपुरबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का १९ वर्षीय जनक माझीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा माझीले प्लास्टिकको पोकोमा लुकाएर ल्याएको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित १६ ग्राम १२ मिलिग्राम र प्लास्टिकबाहेक १६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन झापा गाउँपालिका–५ स्थित सिमलडाँगी हल्दीबारी राजमार्गमा प्रहरी चौकी शरणामती र बीओपी पन्थापाडाबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका झापा गाउँपालिका–६, शरणामतीका २५ वर्षीय प्रेमप्रसाद खनाललाई पक्राउ गरेको छ।
खनालको साथबाट खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित ८ ग्राम ७२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम ३६० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै घटनामा बरामद लागूऔषधसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



