
झापा, १९ असोज । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो। अनुगमनका क्रममा मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन स्थलगत अनुगमन गरिएको बताउनुभयो। मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करीलाई सूक्ष्म रूपमा निगरानीमा राखिएको उहाँको भनाइ छ।
वैकल्पिक मार्गमा पनि निगरानी
इलाम, पाँचथर र ताप्लेजुङलगायत जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको छ। यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार तथा सीमा अपराध रोक्न सहयोग पुग्ने प्रजिअ पोखरेलले बताउनुभयो।
“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो,” उहाँले भन्नुभयो।
उहाँका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ।
१५ दिनमा सुरक्षा अवस्थाको विवरण बुझाउनुपर्ने
सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरेलले बताउनुभयो।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।
चाडपर्वलाई लक्षित गर्दै थप सतर्कता
नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा निकायलाई थप सतर्कता अपनाउन निर्देशन दिइएको प्रजिअ पोखरेलले बताउनुभयो।


