
झापा अनलाइन
झापा, १९ असोज । झापामा जापानी इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत १४ दिनमा लक्षित जनसंख्याको ७१.९ प्रतिशतले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ४ लाख ९३ हजार ३१९ जना लक्षित जनसंख्यामध्ये हालसम्म ३ लाख ५४ हजार ८०४ जनाले जेई खोप लगाएका छन् ।
अभियानको १४ औं दिन असोज १८ गतेसम्मको प्रगति विवरणअनुसार हल्दिबारी गाउँपालिकामा सबैभन्दा बढी ८७ प्रतिशत लक्षित जनसंख्याले खोप लगाएका छन् । हल्दिबारीमा १३ हजार ६७१ जनाले खोप लगाएका छन् ।
त्यस्तै, कचनकवलमा ८०.७ प्रतिशत (१५,९०४ जना), बाह्रदशीमा ७८.४ प्रतिशत (१४,३५९ जना), बिर्तामोडमा ७७ प्रतिशत (४६,०२९ जना), गौरीगञ्जमा ७६.७ प्रतिशत (१३,१४९ जना) र झापा गाउँपालिकामा ७६.१ प्रतिशत (१४,५०२ जना) ले खोप लगाएका छन् ।
कनकाईमा ७५.२ प्रतिशत (१९,७३५), बुद्धशान्तिमा ७५ प्रतिशत (१९,६२९), कमलमा ७२.१ प्रतिशत (१९,०७०) र मेचीनगरमा ७२ प्रतिशत (४७,२००) जनाले खोप लगाएका छन् ।
त्यसैगरी, गौरादहमा ७०.२ प्रतिशत (२१,०८६), दमकमा ६८.२ प्रतिशत (३७,७३६), अर्जुनधारामा ६७.२ प्रतिशत (२८,६५५), शिवसताक्षीमा ६५ प्रतिशत (२३,७१८) र भद्रपुरमा ५८.७ प्रतिशत (२०,३६१) ले खोप लगाएका छन् ।
खोप लगाउनेमध्ये २ लाख ७०५ जना महिला र १ लाख ५४ हजार ९९९ जना पुरुष रहेका छन् । स्थानीय तहगत कभरेज हेर्दा हल्दिबारी पहिलो र भद्रपुर अन्तिम स्थानमा रहेको छ ।
अभियानअन्तर्गत बाँकी लक्षित जनसंख्यालाई पनि खोपको पहुँचमा ल्याउन स्थानीय तह र स्वास्थ्य संस्थामार्फत अभियानलाई निरन्तरता दिइने कार्यालयले जनाइएको छ ।


