
तेह्रथुम, १९ असोज । तेह्रथुमको आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३ जारी गर्दै सेवा सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार नगर बस खरिद तथा सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सङ्क्रान्ति बजारदेखि फिदिमसम्म दैनिक बस
नगर बस गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजारदेखि छिमेकी जिल्ला पाँचथरको सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुनेछ । सङ्क्रान्ति बजारदेखि फिदिमसम्मको दूरी करिब ३५ किलोमिटर रहेको छ ।
गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामका अनुसार उक्त रुटका लागि भाडादर दुई सय रुपैयाँ निर्धारण गरिएको छ । नगर बसमा ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका तथा विद्यालय पोसाक वा विद्यार्थी परिचयपत्र भएका विद्यार्थीले निःशुल्क यात्रा गर्न पाउनेछन् । यस्तै, अपाङ्गता भएका व्यक्तिका लागि निर्धारित भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नगर बस हरेक दिन बिहान ८ बजे सङ्क्रान्ति बजारबाट फिदिमतर्फ प्रस्थान गर्नेछ भने फिदिमबाट दिउँसो ३ बजे आठराईतर्फ फर्किने गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष कृष्णप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।
फिदिमसँग साझेदारी
आठराईवासीको मुख्य व्यापारिक केन्द्र पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बस सेवा सञ्चालनका लागि फिदिम नगरपालिकासँग समेत साझेदारी गरिएको छ ।
नगर बस सञ्चालनमा आएपछि स्थानीय नागरिकको आवागमन सहज र सुरक्षित हुने गाउँपालिकाको अपेक्षा छ । यसबाट पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अध्यक्ष पाहिमले बताउनुभयो ।


