झापा, ९ कात्तिक । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। साथै, करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ।
आर्थिक वर्ष २०८३/०८४ को नियमित कार्यक्रमअनुसार पहिलो चरणमा कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले यसपटक कात्तिक १७ र १८ गते सञ्चालन गर्न लागिएको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइनेछ। सरकारले लक्षित उमेर समूहका बालबालिकालाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर कार्यक्रममा सहभागी गराउन अभिभावकलाई आग्रह गरेको छ।



