झापा, ९ कात्तिक । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले किसान तथा हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव क्रमशः बढ्दै जानेछ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भारतका भूभाग हुँदै नेपालतर्फ आउने भएकाले देशका विभिन्न स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा रहनेछ। बुधबारदेखि भने हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली सुरु हुने अनुमान गरिएको छ।
बुधबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबारदेखि मौसमी गतिविधि थप सक्रिय हुने महाशाखाको अनुमान छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात बढ्न सक्नेछ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा पनि यसको प्रभाव देखिन सक्नेछ। पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
शुक्रबारसम्म मौसमी प्रणालीको प्रभाव देशका अधिकांश भागमा फैलिने सम्भावना छ। त्यस दिन अधिकांश क्षेत्रमा बदली रही मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको जनाइएको छ।
शनिबारसम्म पनि मौसमी प्रणालीको प्रभाव कायम रहने र त्यसपछि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको अनुमान छ।
धानबाली र पर्यटन क्षेत्रमा असर पर्न सक्ने
धानबाली भित्र्याउने मुख्य समयमा हुन लागेको मौसम परिवर्तनले कृषि क्षेत्रमा असर पार्न सक्ने देखिएको छ। वर्षा र हावाहुरीका कारण धान भित्र्याउने काम प्रभावित हुन सक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमान हेरेर आवश्यक तयारी गर्न आग्रह गरिएको छ।
त्यस्तै, पदयात्रा तथा पर्वतारोहणका लागि हिमाली क्षेत्रमा जाने पर्यटकले पनि विशेष सावधानी अपनाउनुपर्नेछ। हिमपात, वर्षा र प्रतिकूल मौसमका कारण पदयात्रा तथा आवागमनमा कठिनाइ हुन सक्ने भएकाले यात्राअघि मौसमको अवस्था बुझ्न सुझाव दिइएको छ।
मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न र आवश्यक परे टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।



