झापा, ९ कात्तिक । विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा खत्रीको शव फेला परेपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
शनिबार अपराह्न जङ्गलमा शव फेला परेका खत्री विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीय व्यवसायी हुन्। उनी शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका उनको शव शनिबार फेला परेको थियो। परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ उनको सनाखत भएको प्रहरीले जनाएको छ।

खत्रीले सञ्चालन गर्दै आएको ‘पिजफायर’ रेस्टुरेन्टमा करिब चार–पाँच वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीया युवतीलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो। ती युवती र खत्रीबीच व्यक्तिगत सम्बन्ध रहेको तथा पछिल्लो समय सम्बन्धमा खटपट देखिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार ती युवतीले रेस्टुरेन्टको आर्थिक हिसाबकिताबसमेत हेर्दै आएकी थिइन्। त्यसैले खत्रीको मृत्युसँग सम्बन्धित घटनाक्रम र रेस्टुरेन्टको आर्थिक कारोबारलाई समेत अनुसन्धानको दायरामा राखिएको छ।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै खत्री र युवतीबीचको सम्बन्ध तथा आर्थिक कारोबारसम्बन्धी विषयमा अनुसन्धान गरिने बताएका छन्।
प्रहरीले युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि, खत्रीको मृत्युमा युवतीको कुनै संलग्नता रहेको वा उनको व्यवहारले मृत्युमा भूमिका खेलेको भन्ने कुरा हालसम्म पुष्टि भएको छैन। अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा निष्कर्षमा पुग्न बाँकी छ।
खत्री विवाहित हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला उनकी श्रीमती भारतमा रहेको प्रहरीले जनाएको छ। उनी फर्किएपछि परिवारका सदस्यको उपस्थितिमा पोस्टमार्टम प्रक्रिया अघि बढाइने बताइएको छ।
खत्रीको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट, प्राप्त प्रमाण र थप अनुसन्धानबाट खुल्ने तथ्यका आधारमा मृत्युको कारण यकिन हुने एसपी कटवालले बताएका छन्।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्नुका साथै उपलब्ध प्रमाणहरूको विश्लेषण गरिरहेको जनाएको छ।



