झापा, १५ कात्तिक । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत आज बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न झापा जिल्ला अधिवेशनबाट कृष्ण हुमागाईं जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ।
यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका हुमागाईंले कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन, झापा जिल्ला अधिवेशन तयारी समिति तथा जिल्ला अधिवेशन आयोजक समितिको संयोजकको भूमिका निर्वाह गरिसक्नुभएको छ।

१४औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट जिल्ला सचिवमा निर्वाचित हुनुभएका हुमागाईं र सहसचिव कालेन्द्र राजवंशीबाहेक जिल्ला कार्यसमितिका अन्य पदाधिकारी विश्वप्रकाश शर्मा समूहमा आबद्ध भएका थिए। उक्त महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहका उम्मेदवार विजयी भएका थिए।
हुमागाईंले यसअघि पार्टीको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्षका रूपमा पनि उहाँले काम गरिसक्नुभएको छ।
राजनीतिसँगै पत्रकारितामा समेत लामो अनुभव हासिल गर्नुभएका हुमागाईं नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति भइसक्नुभएको छ। उहाँले साप्ताहिक विचार, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस), पूर्वाञ्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिक, झुल्केघाम, नयाँ सन्दर्भ, जय लोकतन्त्र साप्ताहिक, स्पेसटाइम्स दैनिक र अर्जुनधारा दैनिकलगायत दर्जनौँ सञ्चारमाध्यममा संवाददातादेखि प्रधानसम्पादकसम्मको जिम्मेवारी सम्हाल्नुभएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सक्रिय रहँदा हुमागाईं पटक–पटक हिरासतमा समेत पर्नुभएको थियो। २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि उहाँले तत्कालीन संगठन विभाग प्रमुख कृष्णप्रसाद सिटौलासँगै करिब तीन महिना भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो।
निर्वासनमा रहँदासमेत हुमागाईंले नेपालमा तत्कालीन शाही सत्ताबाट भइरहेको दमन, प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्ध र मानवअधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत समाचार प्रवाह गर्नुभएको थियो। शाही शासनविरुद्धको आन्दोलनलाई सहयोग पुर्याउन भारतमा प्रचार सामग्री तयार गर्ने, छपाइ गर्ने र नेपाल पठाउने कार्यमा समेत उहाँ सक्रिय रहनुभएको थियो।
तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि सेन्सरसिप लगाइएको थियो भने प्रेस स्वतन्त्रता र राजनीतिक गतिविधिमाथि कडा नियन्त्रण गरिएको थियो। त्यस कठिन परिस्थितिमा हुमागाईंले लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।
जुझारु, निडर र संघर्षशील नेताका रूपमा परिचित हुमागाईं जनआन्दोलनका क्रममा चर्चामा रहनुभएको थियो। स्पष्टवक्ता तथा वैचारिक बहसमा खरो रूपमा प्रस्तुत हुन सक्ने नेताका रूपमा उहाँको पहिचान छ।



