
काठमाडौँ, ९ असार । अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली आइसल्याण्डलार्इ २(० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ।
पराजित आइसल्याण्डको सम्भावना पनि बाँकी नै छ भने नतिजाले यसै समूहको अर्जेन्टिनालार्इ पनि राहात पुगेको छ।

समूह डी को खेलमा जितसँगै नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा उसले अर्जेन्टिनालार्इ पराजित गरे या बराबरी खेले दोस्रो चरणमा स्थान बनाउने छ। त्यस्तोमा आइसल्याण्डले अन्तिम खेलमा भने कोएशियासँग जित्नु हुँदैन।
यता, १ अंक रहेको आइसल्याण्डले अन्तिम खेलमा क्रोएशियालार्इ पराजित गरे ४ अंकका साथ उसले दोस्रोमा स्थान बनाउने छ। त्यस अवस्थामा नाइजेरिया अर्जेन्टिनासँग पराजित हुनुपर्छ भने गोलअन्तरमा आइसल्याण्डले अर्जेन्टिनालार्इ जित्नुपर्छ।
पहिलो खेलमा बराबरी र दोस्रो खेलमा हार बेहोरेको अर्जेन्टिनालार्इ नाइजेरियाको जितले राहात दिएको छ। अबको समिकरणमा अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालार्इ पराजित गरेमा र आइसल्याण्ड क्रोएशियासँग हार बेहोरेमा लियोनल मेस्सीको टोली अर्जेन्टिना समूहको दोस्रो बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ।
अब अर्जेन्टिनाले आउँदो मंगलबार नाइजेरियाको सामना गर्नेछ भने सोही दिन आइसल्याण्डको भेट क्रोएसियासँग हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
