
उर्लाबारी, १५ साउन । मोरङको उर्लाबारीमा मिनी दौड प्रतियोगिता सञ्चालन गरिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आगामी साउन २६ गते सो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले सोमबार पत्रकार सम्मेलन गरी सो प्रतियोगिताका बारेमा जानकारी गराएको हो । ‘स्वास्थ्यका लागि दौड’ भन्ने मुख्य नाराका साथ आयोजना गरिने सो प्रतियोगितामा नगर क्षेत्रका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिला, पुरुष र भेट्रान गरी तीन तहमा दौड प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम संयोजक प्रभू राईले जानकारी दिए । उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चालन गरिने सो प्रतियोगिताको ‘उर्लाबारी रन’ नामकरण गरिएको छ ।
राष्ट्रियस्तरमा उर्लाबारीको पहिचान गराउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राईले बताए । उर्लाबारी–६ स्थित सूर्यचौकदेखि सुरु हुने दौड तरुणचौक, खोर्सानीबारी, आइतबारे, स्कुलडाँडा, उर्लाबारीचौक हुँदै महारुद्र शिवालय मन्दिरसम्म करिब सात हजार दुुई सय मिटर दूरीसम्म हुने मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले जानकारी दिए ।
पुरुष र महिला दुबैतर्फ प्रथम हुनेलाई नगद १०÷१० हजार, दोस्रो हुनेलाई सात÷सात हजार, तेस्रो हुनेलाई पाँच÷पाँच हजार र चौँथो हुनेलाई एक÷एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
त्यसैगरी भेट्रानतर्फ प्रथम हुनेलाई पाँच हजार, दोस्रो हुनेलाई तीन हजार, तेस्रो हुनेलाई दुुई हजार र चौथो हुनेलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
