कृषि विशेष

धान सुपरजोनमा २० हेक्टरमा कृषि वन विस्तार

add

बनियानी, झापा, १६ साउन : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापामा २० हेक्टर क्षेत्रफलमा कृषि वन विस्तार गरिएको छ ।

सुपरजोन क्षेत्रमा कृषि वन अवधारणा अन्तरगत २० हेक्टरमा कृषि वन विस्तार गरिएको जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार धान सुपरजोन क्षेत्रमा पर्ने भद्रपुर–२ पृथ्वीनगरस्थित कमलधाप राम पोखरी सामुदायिक वनमा सिट्रोनेला र वन विरुवा लगाइएको छ ।

सिट्रोनेला हर्बल तेल उत्पादनमा प्रयोग हुन्छ । उक्त सामुदायिक वनले उत्पादित सेट्रोनेलाबाट गत रू ६० हजार आम्दानी समेत गर्न सफल भएको सहायक वन अधिकृत उप्रेतीले बताउनुभयो । ‘सिट्रोनेलाबाट छ÷छ महिनामा उत्पादन लिन सकिन्छ’, उहाँले भन्नुभयो, ‘बजारको समस्या छैन, झापामै हर्बल तेल उत्पादन गर्ने उद्योग छ ।’

सुपर जोन लागु भएसँगै झापामा कृषि वनका लागि आर्थिक वर्ष २०७३÷०७४ मा रू ८० लाख बजेट आएको थियो भने गत आव २०७४÷०७५ रू ६१ लाख आएको कार्यालयले जनाएको छ । आव २०७३÷०७४ मा रू ७१ लाख खर्च भई रू ९ लाख फ्रिज भएको थियो भने आव आव २०७४÷०७५ मा रू ४८ लाख खर्च भई रू १३ लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, कृषि वन अन्तरगत प्राप्त बजेटबाट पाथिभरा सामुदायिक वनलाई जैविक मल उत्पादन गर्न रू २ लाख, नौ हजार आँप, लिच्ची र कागतीका बिरुवा वितरण, निजी क्षेत्रलाई वृक्षारोपणका लागि ३० हजार बिरुवा प्रदान र ४० हजार बिरुवा उत्पादन गरिएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिनुभयो ।

Facebook Comments