खेलकुद

पाथीभरा गोल्डकप भदौमा

ताप्लेजुङ, २० साउन । हिमाली जिल्ला ताप्लेजुङमा दोस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता भदौ ८ देखि हुने भएको छ ।

सदरमुकाम फुङ्लिङस्थित भानु माविको मैदानमा हुने प्रतियोगितामा भारतको एक टिमसहित १० टोलीको सहभागिता रहनेछ । आयोजक लाखेजात्रा खेल सञ्चालन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेको हो । यस वर्ष पुरस्कार राशिसमेत वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेताले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । विजेताले दुई तोला सुन र पाँच किलो चाँदीबाट बनेको रनिङ कपसमेत पाउनेछन् ।

यस्तै उत्कृष्ट स्ट्राइकर, गोलरक्षक, डिफेन्स, मिडफिल्डर, प्रशिक्षक, सर्वा्धिक गोलकर्ता र उदीयमान खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ताप्लेजुङ–११ र कर्ण्सिंह सोनाम फुटबल क्लबसहित, एम्ब्रोज क्लब मोरङ, न्यु स्टार क्लब झापा, रेड स्टार झापा, राष्ट्रिय जागृति क्लब सुनसरी, रेडहर्स क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर, चर्च ब्वाइज क्लब काठमाडौं र रोयल फुटबल टिम सिलिगुडीले सहभागिता जनाउने समितिका अध्यक्ष मोती पतङ्वाले जानकारी दिए ।

पाथीभरा गोल्डकपमार्फत प्रसिद्ध तीर्थस्थल पाथीभराको मन्दिरको समेत प्रचारप्रसार गरी व्यावसायिक खेलाडी उत्पादन गर्नु मुख्य उद्देश्य रहेको उनले बताए । समितिले भदौ १६ सम्म हुने प्रतियोगिताका लागि मैदान सम्याउने काम गरिरहेको छ । बर्से्नि खेलाडी र दर्शकले मैदान नराम्रो भएको भन्दै गुनासो गरेपछि समितिले आफ्नै खर्चमा मैदान सम्याउने र ग्रेड मिलाउने काम गरिरहेको छ । यस वर्ष मैदानका विषयमा विगतको जस्तो गुनासो नआउने दाबी आयोजकको छ ।

पत्रकार सम्मेलनमै गत वर्षको आयव्यय समेत सार्वजनिक गरिएको थियो । यस वर्षको प्रतियोगितामा ३१ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो ।

Facebook Comments