
झापा, २२ साउन । एक महिनादेखि भारत निकासी ठप्प रहेको गोलभेँडा निकासी शुरु भएपछि यहाँका कृषक हर्षित छन् । संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासी शुरु भएको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो ।
उहाँका अनुसार तत्काललाई किसानले फलाएको गोलभेँडा बिक्री गर्नका लागि यहाँको नाकाबाट निकासी हुने प्रबन्ध मिलाइएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सूचीमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहेको समितिले काम अघि बढाएको हो ।”
भारतीय पक्षले निकासी हुने सूचीमा गोलभेँडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेँडाको बिक्रीवितरण प्रभावित भएको थियो ।
केही दिनअघि बजार प्रवद्र्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो ।
निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनाका साथै व्यापार पनि बढेको राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला अध्यक्ष गणेश पोखरेलले जानकारी दिनुभयो । यहाँकोे याङ्वरक र हिहिहाङ गाउँपालिकाका किसानको बगानबाट यस वर्ष १३ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


