
बनियानी, २९ असार । झापामा यस वर्ष तीन लाख ४५ हजार वटा बिरुवा वितरण गरिने भएको छ ।
जिल्ला वन कार्यालय झापाले गत असार १४ गते वातावरण दिवसको अवसर पारेर टिक, मसला, खमारी, मलेसियन साल, मगोहिनी, खयर, नेमारो, सिरीष, कदम लगायतको बिरुवा वितरण शुरु गरिएको जनाएको छ ।
कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत १ लाख ५० हजार, वन दशक कार्यक्रम अन्तगरत ८५ हजार, जिल्ला वन आपूर्ति समितिबाट ७० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ४० हजार गरी कूल ३ लाख ४५ हजार वटा वन बिरुवा वितरण गरिने छ ।
उक्त बिरुवाको मूल्य करिब रू ३१ लख रुपैयाँ पर्ने कार्यालयले जनाएको छ । यस वर्ष ३९ हेक्टरमा वृक्षारोपण गर्ने लक्ष्य कार्यालयले लिएको छ । गत वर्ष कार्यालयले १ सय १५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्यका साथ ९ लाख ५० हजार बिरुवा वितरण गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष छ लाखको संख्यामा बिरुवा वितरणमा कमी आएको छ । पछिल्लो दुई वर्षमा धेरै मात्रामा बिरुवा वितरण भएको थियो ।
आर्थिक वर्ष २०७१÷७२ मा सात लाख वटा, आव २०७२÷७३ मा आठ लाख ५० हजार वटा, आव २०७४÷०७५ मा ९ लाख ५० बिरुवा वितरण गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएपछि बिरुवाको माग बढ्दै गएको उप्रेती बताउनुहुन्छ । वन कार्यालयले बिरुवाका लागि निवेदन दिन आउनेलाई १५ वटा र ठूलो क्षेत्रफलमा रुख लगाउने मागपत्र लिएर आउनेलाई आवश्कता अनुसार बिरुवा उपलब्ध गराउँदै कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


