
झापा, ३ भदौ । झापाको धान सुपरजोनमा उत्पादित चैत धानको एक प्रजातिमा जिंकको मात्रा अत्याधिक रहेको पाईएको छ । ‘सुख्खा ३’ नाम दिइएको सो प्रजातिको धानको चामलमा जिंक तत्वको मात्रा अत्यधिक पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालयले गरेको अनुसन्धानमा सुख्खा ३ धानको सय ग्राम चामलमा १५ दशमलव ८ मिलिग्राम जिंक पाइएको कार्यालय प्रमुख प्रमोद कोइरालाले बताए । उनका अनुसार सामान्यतया प्रति सय ग्राम चामलमा ७ देखि १० मिलिग्राम जिंक पाइने गरेको तर सुख्खा ३ मा १५ दशमलव ८ मिलिग्राम पाइनु फाइदाजनक रहेको छ । ‘जिंकको अभावमा मानिसको शरीरमा विभिन्न किसिमको रोग लाग्छ तर यहाँको धान त्यति धेरै पाउनु अत्यन्तै लाभदायक हो,’ उनले भने, ‘जिंक गर्भवती महिला, नवजात शिशु, बालबालिका, किशोरावस्थाका व्यक्तिलाई लाभदायक हुन्छ ।’
जिंक बढी भएको चामल भनेर छुट्टै ब्रान्डिङ गर्न सकिए किसान र व्यवसायी दुबैलाई बढी फाइदा हुने कोइरालाले बताए । ‘पोषण तत्वको महत्व बुझ्नेहरूले जिंकको मात्रा बढी भएको चामल नै किन्छन्,’ उनले भने, ‘त्यसैले झापाका चामल उत्पादक उद्योगीहरूसँग जिंक बढी भएको चामल भनेर उत्पादन, बिक्री, वितरण र बजारीकरणका लागि छलफल गरिरहका छौं ।’
सुख्खा ३ धानको प्रतिसय ग्राम चामलमा प्रोटिन ९ दशमलव ७३, जलांस १० दशमलव १५, कुल भष्म १ दशमलव ३५, चिल्लो पदार्थ १ दशमलव ८९, फाइवर शून्य दशमलव ८८, कार्बोहाइड्रेट ७५ दशमलव ६५ प्रतिशत र इनर्जी ३ सय ५८ दशमलव ५३ किलो पाइएको कोइरालाले बताए । उनले झापाको धान सुपर जोनमा उत्पादित आइआर–६२६–बी–बी–५७, एनआर–२१६७–४१–१–१–१, कान्छी, मन्सुली, सुख्खा ३, सामा मन्सुली सब १, रन्जित, स्वर्ण सब १, राधा १४ र शरना धानको चामलको नमुना संकलन गरी पौष्टिक तत्व विश्लेषण गरिएको बताए ।
बरिष्ठ फिजिसियन डा. रोशन खडकाले गर्भवती, नवजात शिशु, बालबालिका, किशोरको शारीरिक वृद्धि र विकासका साथै मानसिक विकासमा समेत जिंक महत्वपूर्ण हुने बताए । ‘जिंकले रोग प्रतिरोधक क्षमता वृद्धि, प्रोटिन संश्लेषण, डीएनए संश्लेषण, घाउ निको गर्न, शरीरमा सेल विभाजन लगायतको काम गर्छ,’ उनले भने, ‘सुख्खा ३ धानमा त्यतिको जिंक पाइनु अत्यन्तै लाभदायक हो, त्यसको छुटै ब्रान्डिङ गरेर बिक्री गर्नु राम्रो हुन्छ ।’
कृषि अनुसन्धान परिषदले तीन वर्षअघि सुख्खा ३ प्रजातिको धान सार्वजनिक गरेको थियो । सुख्खा ठाउँमा कम पानी हुँदा पनि उत्पादन हुने र रोग किरा कम लाग्ने यो धानको विशेषता हो । आजको इजलास दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


