कृषि विशेष स्थानीय खबर

झापामा धान सुपरजोनका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर

add

सन्तोष शर्मा
बनियानी, झापा, ६ भदौ । झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् ।

परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेका छन् । कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागत शैली छाडेर आधुनिक प्रविधिबाट धान खेती गर्नुभएको छ । उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धान खेती गर्नुभएको हो ।

‘न धानको ब्याड राख्नु पर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भन्नुभयो, ‘पहिला धेरै खेताला लगानुपथ्र्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।’ उहाँले आधुनिक कृषि प्रविधि र कृषि औजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताउनुभयो ।

सुपरजोन परियोजना अन्तरगत ५० प्रतिशत अनुदानमा उहाँले एउटा पावरट्रेलर समेत खरिद गर्नुभएको छ । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उहाँले बताउनुभयो । त्यस्तै, उहाँले जैविक मल उत्पादनसमेत गर्न थाल्नु भएको छ । गड्यौले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उहाँको योजना छ । ‘झट्ट हेर्दा रासायनिक मलले राम्रो उत्पादन दिने भए पनि माटो बिगार्दो रहेछ’, उहाँले भन्नुभयो ।

त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धान खेती गर्नुभएको छ । उहाँले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताउनुभयो । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उहाँले भन्नुभयो, ‘कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसफर्त लागेँ ।’ कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आबद्ध कृषिक आधुनिक प्रविधितर्फ आकर्षित भएको बताउनुभयो ।

‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आबद्ध रहेको बताउँदै लामाले भन्नुभयो, ‘अहिले २०÷२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।’ यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ ९ हजार हेक्टरमा धान खेती गरिएको छ । जसमध्ये २ हजार हेक्टरमा सुपरजोनमा आबद्ध किसानले धान खेती गरेको सुपरजाने परियोजना कार्यान्वयन इकाई बनियानीका बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिनुभयो ।

त्यस्तै, यस वर्ष ९३ वटा समूह, सहकारीमा आबद्ध ५५० जना किसानलाई अनुदान उपलब्ध गराइसकिएको छ । ६६५ बिघामा बर्खे धान खेती गर्ने ५५० किसानलाई रू २४ लाख ५० हजार अनुदान उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत सागर विष्टले जानकारी दिनुभयो । कृषकले स्वर्ण सव–१, गरिमा, हर्दिनाथ–१ र ३, सुख्खा–३, लल्का बासमती, गौरीनाथ, रञ्जित, सर्ना, डल्लेपुसा, चाइनापुसा लगायत जातको धान खेती गरेका छन् ।

सरकारले पावर ट्रेलर, ड्रम सिडर, रिपर, ट्याक्टर, थ्रेसर लगायतका कृषि औजारका साथै सिञ्चाइका लागि डिप बोरिङ, सोलार बोरिङ, पानी तान्ने मोटर लगायतका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । धान सुपरजोनका लागि चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि रू ३ करोड १० लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । गत आव २०७४÷०७५ मा रू ५ करोड ५४ लाख बजेट कार्यालयलाई उपलब्ध गराइएको थियो ।

सुपरजोन क्षेत्रमा धान खेतीको क्षेत्रफल समेत बढेको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १५० बिघामा चैते धान लगाइएकोमा आव २०७४÷०७५ मा ६५० बिघामा धान खेती गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, धानको उत्पादकत्वमा समेत बृद्धि भएको छ । ५.१ मेट्रिक टनबाट बृद्धि भई ५.६ मेट्रिक टन भएको बरिष्ठ कृषि विकास अधिकृत तिमल्सेनाले जानकारी दिनुभयो ।

यता, धानको उत्पादनमा बृद्धि भए पनि बजार अभावका कारण कृषक निराश छन् । यस वर्ष चैते धान शुरु सिजनमा रू ८०० प्रतिमन बिक्री भएको थियो । तर पछि रू ६०० मा बिक्री नभएको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेको धानको बजार सुनिश्चित नभएसम्म उत्पादन गरेर मात्र नहुने बनियानीका कृषक विजय राजवंशीले बताउनुभयो । उहाँले कृषकको उत्पादनले उचित मूल्य पाउने वातावरण निर्माणमा सरोकारवाला निकाय लाग्नुपर्ने माग गर्नुभयो ।

Facebook Comments