कृषि विशेष स्थानीय खबर

धान सुपरजोनः कृषक अनुदानमुखी नभई प्रविधिमुखी हुनुपर्ने

add

सन्तोष शर्मा
बनियानी, १९ भदौ । झापाको कचनकवल गाउँपालिकामा आयोजित एक कार्यक्रमका सहभागीले कृषक अनुदानमुखी नभई प्रविधिमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकई (धान सुपरजोन) कार्यालय बनियानीले आज यहाँ आयोजना गरेको ‘योजना तर्जुमा तथा कार्यक्रम सार्वजनिकीकरण गोष्ठी’का सहभागीले त्यस्तो बताएका हुन् । कृषकले अनुदानको मुख ताक्नुभन्दा आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरेर खेती गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

सरकारले सिँचाइ र आधुनिक कृषि औजार खरीदमा ठूलो लगानी गरेको छ । तर, कृषक आधुनिक कृषि औजारको खरीदका लागि प्राप्त हुने अनुदानभन्दा व्यक्तिगत रुपमा प्राप्त हुने अनुदानमा बढी आकर्षित देखिएको सहभागीको भनाइ छ । सरकारले कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन बृद्धि गर्न र लागत घटाउन प्रयत्नशील भए पनि त्यसमा अपेक्षाकृत सफलता मिल्न सकेको छैन ।

कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले कृषिको माध्यमबाट समृद्धि हासिल गर्न सकिने भएकाले गाउँपालिकाले कृषिलाई विशेष रुपमा लिएको बताउनुभयो । ‘यहाँका प्रायः सबै मानिस खेती किसानी गर्छन्’, उहाँले भन्नुभयो, ‘सरकारले पनि यस क्षेत्रलाई धान सुपरजोन घोषणा गरेको छ, गाउँपालिका यो विषयमा गम्भीर छ ।’

कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ मा कार्यालयले सञ्चालन गर्ने कार्यक्रम र क्रियाकलापका बारे कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । धान सुपरजोनका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयबाट रू २ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भएको तिमल्सेनाले बताउनुभयो ।

‘सबैभन्दा बढी बजेट सिँचाइ र कृषि औजार खरीदका लागि आएको छ’, उहाँले भन्नुभयो, ‘आधुनिक कृषि औजारको प्रयोग गरेर लागत घटाउने र उत्पादन बढाउने सरकारको लक्ष्य हो ।’ आधुनिक प्रविधिको प्रयोगभन्दा पनि कृषकले अनुदान पाइने आशा राख्नाले अपेक्षाकृत सफलता मिल्न नसकेको प्रमुख तिमल्सेनाले बताउनुभयो ।

त्यस्तै, धान सुपरजोन सञ्चालक समितिका संयोजक नवराज भट्टराईले धान सुपरजाने घोषणा भएसँगै यहाँका कृषिकले कृषि औजारको प्रयोग गर्न थालेको बताउनुभयो । ‘हिजो आज गर्दै प्रयोग बढ्दै गएको छ’, उहाँले भन्नुभयो, ‘शुरुमा खेती बिग्रिन्छ कि भन्ने भ्रम थियो, अहिले त्यस्तो छैन ।

यस वर्ष लक्षित समुदायका लागि सौर्य उर्जा सिँचाइमा रू १ करोड, प्रतिफलमा आधारित अनुदान रू ३५ लाख, साना सिँचाई निर्माण र मर्मत सम्भारमा रू ५२ लाख ५० हजार, सामुदायिक नर्सरी स्थापना गर्न रू १६ लाख, ५० प्रतिशत अनुदानमा कृषि औजार खरीदका लागि रू ४० लाखलगायत गरी २६ वटा शीर्षकमा कूल रू २ करोड ९६ लाख ५९ हजार बजेट प्राप्त भएको कार्यालयका कृषि अधिकृत सागर विष्टले जानकारी दिनुभयो ।

Facebook Comments