
झापा, २५ असार । झापामा आधा भन्दा बढी सकिएको छ ।
कृषि ज्ञानकेन्द्र झापाका अनुसार ५३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी गणेश शिवाकाटीका अनुसार गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ भएको हो । समयमै वर्षा सुरु भएको र किसानले पाउने मलमा समेत समस्या नभएका कारण गत वर्षको तुलनामा दुई प्रतिशत बढी रोपाइँ गर्न सकिएको उहाँले बताउनुभयो ।
झापामा यस वर्ष ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । सोमध्ये ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ । हाल दैनिक वर्षा भइरहेकाले खोला पैनीमा समेत पानीको बहाव बढेका कारण किसानलाई रोपाइँका लागि पर्याप्त पानी पुगिरहेको उहाँको भनाइ छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायतका सिँचाइ आयोजना छन् । कृषि ज्ञानकेन्द्र झापाले धान खेतीमा नवीनतम मसिनरी प्रयोग कार्यक्रमअन्तर्गत कनकाई नगरपालिका र गौरादह नगरपालिकामा ३५ कट्ठा जमिनमा छरुवा धान खेतीसमेत गरिएको जानकारी दिएको छ ।
शिवाकोटीका अनुसार कनकाई नगरपालिकाको विनुबाजा कृषि सहकारी संस्थाले २५ कठ्ठा र गौरादह नगरपालिकामा रहेको महारानी झोडा कृषि सहकारी संस्थाले १० कठ्ठामा ज्ञान केन्द्रको सहयोगमा छरुवा धानको खेती गरेका छन् । जिल्लामा यही रफ्तारमा रोपाइँ चलेमा साउनको पहिलो हप्तासम्ममा धान रोपाइँ सकिने अनुमान गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



