
चन्द्र बस्नेत
कनकाई, २६ साउन । डेंगु सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढेपछि झापाको कनकाई नगरपालिकाले डेंगु नियन्त्रण अभियानमा जुटेको छ। डेंगुको लार्भा खोज र नष्ट गर अभियानको शुरुवात गर्दै नगरका सबै वडाहरुमा डेंगु विरुद्धको अभियानलाई तीव्रता दिइएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाको सभा हलमा एक सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ ।
नौ वटा वडा रहेको कनकाईमा डेंगु सङ्क्रमितको संख्या बढ्न थालेसँगै बिहीबार वडा नं. ४ र ८ का प्रत्येक बाटो, चोक गल्ली तथा घर–घरमा पुगेर सचेतनामुलक र्यालिसहित औषधि छिट्ने काम शुरु गरिएको कनकाईका जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
वडा नं. ४ मा वडाध्यक्ष रोशन सुवेदीको अध्यक्षतामा साथै वडा नं. ८ मा वडाअध्यक्ष लिलाबहादुर कटुवालको अध्यक्षतामा अभियानको सुभारम्भ भएको नगरपालिकाकी स्वास्थ्यकर्मी टिकामाया दवाडीले जानकारी दिनुभयो । कनकाईमा अहिले यो वर्ष नमुना चेक गरेकामध्ये ३२ जनामा संक्रमण पुष्टि भएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको जानकारी दिनुभयो ।

उहाँले डेंगु नियन्त्रणका लागि सबै वडामा अभियान चलाउने भन्दै सबैले आ आफ्नो घर वरिपरि सरसफाइमा ध्यान दिने लामो बाउला भएका कपडा लगाउनु साथै झुलको प्रयोग गरेर मात्रै सुत्न सम्पूर्ण नगरबासीमा आग्रह समेत गर्नुभयो । नगर प्रमुख पोखरेलले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढिरहेको बताउनुभयो ।
नगर प्रमुख पोखरेलले डेंगु सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना सञ्चालन सुरु गरिएको बताउनुभयो । यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने जिकिर गर्नुभयो । नगर प्रमुख पोखरेलले भन्नुभयो, ‘डेंगी रोग लामखुट्टेको टोकाईबाट लाग्ने भएकाले अघिल्ला वर्षाहरु झैं यस पटक फगी स्प्रे (धुँवा उढाउँने काम) नगर्ने जानकारी दिनुभयो ।

‘खोज तथा नष्ट गर’ अभियान टोल–टोलमा सञ्चालन गरिने जानकारी दिँदै कनकाई नगरपालिका जनस्वास्थ्य प्रमुख नारायण अधिकारीले ज्वरो आउने वित्तिकै स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधी नखान नगरबासीलाई आग्रह गर्नुभएको छ । डेंगु नियन्त्रण अभियानमा नगर प्रमुख पोखरेल , वडा न ४ का अध्यक्ष रोषन सुवेदी सहित अन्य वडा सदस्य, टोल विकास सस्थाका पदाधिकारी, नगर स्वास्थ्य शाखाका कर्मचारी, वडा न ८ का वडा अध्यक्ष लिलाबहदुर कटुवालसहित अन्य वडा सदस्यसहितको टोली औषधि छिट्ने अभियानमा लागि परेको हो ।

शुक्रबार वडा न २ मा उक्त अभियान सञ्चालन गरिने वडा अध्यक्ष वलराम राई (प्रतापले) जानकारी दिनुभयो । कनकाई नगरपालिकाले सबै जसो वडाहरुमा डेंगु पहिचान गरेर नष्ट गर्ने र घर घरमा सन्देश पु¥याउनकोलागि विद्यालय, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायहरुसंँग छलफल अन्तरक्रिया कार्यक्रमहरु समेत संचालन गर्दै अघि बढ्ने कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।
यसैबीच, नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बिहीबार साझसम्ममा दश हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाएका तथ्याङ्क छ ।
सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । यसपालि सङ्क्रमण देखिएकामध्ये सबैभन्दा धेरै सुनसरीमा भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।
कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ ।
सुनसरीपछि मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


