
नवेश गुरुङ
अर्जुनधारा, २६ श्रावण । झापाको अर्जुनधारा नगरपालिका–२ को एक परिवार पीडै पीडाबाट गुज्रिरहेको छ ।
हाल युवा अवस्थाका एक जना परिवारका सदस्य ३१ वर्षीय सन्तोष सिञ्जाली मगर सामाजिक अगुवाहरुको सहयोगमा उपचारपछि भक्तपुरको ‘आफ्नो घर आश्राम नेपाल’ पुगेका छन् । विगत ३ वर्षदेखि मानसिक रोगबाट पीडित मगरलाई रेडक्रस शोसाइटी खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भट्टराई, अर्जुनधारा शाखाका सचिव कमल पोख्रेलको सक्रियतामा उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरिएका मगरको परिवारमा बुवा उच्च रक्तचापका कारण विगत ६ महिनादेखि ओछ्यानमा छन् भने उनका आमा कम्मरको नशा च्यापिएका कारण असक्त अवस्थामा छन् । त्यस्तै, ९० वर्षीय हजुरआमा शरीरको एक पाटो नचल्ने रोगले पीडित छिन् ।
न्यून परिवारिक आर्थिक अवस्थाका मगर परिवार सहयोगको अपेक्षा गरिरहेको छ । सम्पत्तिको नाममा १० धुर ऐलानी जग्गामा बनेको बाँस र जस्ताले छाएको टहरामा हाल उनीहरु बस्दै आएका छन् । सन्तोषको उपचारमा पनि बिर्ता सिटी अस्पतालले सम्पूर्ण उपचार खर्च निःशुल्क गरिदिएको सामाजिक अभियान्ता विष्णु आचार्यले जानकारी दिनुभयो ।
योसँगै झापाबाट ४० जना बढी रोगी, बेसहाराको उद्धार गरिएको छ । अब केही समय पछि झापामै आश्रम स्थापना गरिने बताइएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


