
भद्रपुर, १ भदौ । मधेश प्रदेश अन्तरगत धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधिबीच अनुभव साटासाट भएको छ ।
गणेशमान चारनाथ नगरपालिकाबाट आज हल्दिबारी गाउँपालिकाको भ्रमणमा आएको जनप्रतिनिधिसहितको पाँच सदस्यीय टोली र यहाँका जनप्रतिनिधिबीच आ–आफ्नो स्थानीय तहमा भएका विकास निर्माण एवम् रचनात्मक क्रियाकलाका बारेमा अन्तरक्रियात्मक कार्यक्रमका बीच अनुभवन साटासाट भएको हो ।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरु लगायत कर्मचारीहरुको टोलीले भ्रमणमा आएका उनीहरुलाई स्वागत एवम् सम्मान गर्नुभएको थियो ।
गणेशमान चारनाथ नगरपालिकाबाट वडा नं. १ का वडाध्यक्ष श्यामकुमार आले मगर, २ नं. वडाध्यक्ष ज्योति दीप हमाल, ४ नं. वडाध्यक्ष सोमबहादुर आले मगर, पालिका प्रतिनिधि ज्याक्सन हमाल र गणेशमान चारनाथ नगरपालिकाका राप्रपा नगर अध्यक्ष कपु श्रेष्ठको टोली हल्दिबारी गाउँपालिकाको भ्रमणमा आएको हो ।
गाउँपालिका अध्यक्ष लिङ्देन नगरपालिकाका सबै शाखाहरुको भ्रमण गराउनु भएको थियो भने नगर परिसरमा सञ्चालित आधारभूत अस्पतालको समेत अवलोकन भ्रमण गराउनु भएको थियो ।
अन्तरक्रियात्मक कार्यक्रममा गाउँपालिकाको वस्तुस्थितिसहित भए गरेका कामका बारेमा कर्मचारी सुरज पोखरेलले प्रोजेक्टरमार्फत् प्रस्तुतीकरण दिनु भएको थियो ।
त्यस्तै, गणेशमान चारनाथ नगरपालिकाका–४ का वडाध्यक्ष सोमबहादुर आले मगर, राप्रपा नगर अध्यक्ष कपु श्रेष्ठ र पालिका प्रतिनिधि ज्याक्सन हमालले आफ्नो नगर र वडामा भएका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । उनीहरुले हल्दिबारी गाउँपालिकाले गरेका राम्रा कामको अनुशरण गर्ने धारणा राख्नुभयो ।
यता, हल्दिबारी–१ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजवंशी, ४ का वडाध्यक्ष सन्तकुमार थापाले समेत नगर र आ–आफ्नो वडामा भएका कामको चर्चा गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जनप्रतिनिधिले मितव्ययी र स्रोत साधनको समुचित प्रयोग गर्न सके थोरै बजेटमै धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले गाउँपालिकाले गरेका कामको चर्चा गर्दै जनताको मन जित्ने गरी काम गर्नु नै आफूहरुको कर्तव्य भएको बताउनुभयो । जनसरोकारका विषयलाई सुक्ष्म तवरले अध्ययन गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


