
झापा, २ भदौ । झापाको मेचीनगर नगरपालिका–८ का ४३ वर्षीय सुन्दर किसानको पारिवारिक रिसिइबीका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्याबारे जानकारी दिएको हो ।
मेचीनगर–८ का ५६ वर्षीय रामजी किसान र उनका भाइ ४८ वर्षीय सुनरसी किसानले सुन्दर किसानको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले हत्यामा प्रयोग भएको फलामको खन्ती र धारिलो हतियार सिक्कल समेत बरामद गरेको छ ।
बुधबार साँझ घरबाट बाहिर निस्किएका सुन्दर रातभरि घर नफर्किएपछि मृतककी श्रीमतीले घरदेखि डेढ किलोमिटर पर सडकमा बिहीबार बिहान ७ बजे उनको चप्पल देखेकी थिइन् । चप्पल नजिकै रगत थोपाहरू देखा परेपछि उनले तत्काल प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको थियो ।

यस्तो छ प्रहरीको रिपोर्ट
मिति २०८०/०४/३२ गते विहान अं ६ बजेको समयमा स्थनानीय व्यक्तिहरुले मर्निङ्ग वाक गर्ने क्रममा जि.मेचीनगर नगरपालिका वडा नं ८,मुनियाँटोलस्थित होलीपैनीको कल्भर्ट छेउ बाटोको बिभिन्न ठाउँमा रगतहरु छरिएर रहेको देखेपछि सो स्थानमा केही घटना घटेको हुनसक्ने आशंका गरी प्रहरीलाई सूचना गरेको ।
सूचना पश्चात ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा सो स्थानमा गई अनुसन्धान गर्ने क्रममा घटनास्थलमा फलामको रडबाट बनेको खन्ती बांगिएको अवस्थामा र एक जोर सेतो रङ्गको प्लाष्टिकको चप्पल फेला परेको ।
स्थानीय रामलाल किसानको छोरा बर्ष ३५ को सुन्दरलाल किसान अघिल्लो दिन बेलुकी घरबाट निस्की फर्की नआएको सूचना समेत प्रहरीलाई प्राप्त भएपछी घटनास्थलमा फेला परेको चप्पल निज सुन्दरलाल किसानको श्रीमतीलाई देखाउँदा आफ्नो श्रीमानको चप्पल हो भनी सनाखत गरिदिएको ।
त्यसरी रगतको टाटा भएको,चप्पल भेटिएको तथा बांगिएको रडको खन्ती भेटिएको स्थानबाट दक्षिणतर्फ धान रोपेको खेतमा हेर्दा मानिसलाई घाइते बनाई घिसारेको जस्तो अनुमान गर्न सकिने किसिमको नाली बनेको र सो नाली होलीपैनीमा लगेर हालेको जस्तो देखिएकोले घटना झन रहस्यमय हुन आएको ।
प्रहरी टोलीले सर्च अपरेशन चलाई धान रोपिएको खेत तथा होली पैनीको सम्पूर्ण भागमा हेर्दा अनुसन्धान सुरु गरेको स्थानबाट झण्डै ६०० फिट दक्षिण पैनीमा रहेको बुट्यान झाडिले पुरेको अवस्थामा शरीरको बिभिन्न भागमा गम्भीर चोटपटक पुर्याई वीभत्स तरिकाले कर्तव्य गरी हत्या गरेर लाश गाडेको अवस्थामा सुन्दरलाल किसानको लाश फेला परेको ।
सो पश्चात कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह,जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकारभिट्टाले संयुक्त रुपमा अनुसन्धान कार्यलाई तीव्ररुपले अघि बढाई नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको डग शाखाबाट कुकुर समेत झिकाई डग स्निफिङ्ग गरि घटनाको अनुसन्धान गरिएको ।
स्थानीय व्यक्तिहरुसंग सोधपुछ तथा टेक्निकल रुपले समेत अनुसन्धान अगाडी बढाइएको ।
डग स्निफिङ्ग गराउँदा स्थानीय सुनरसी किसान र रामजी किसान (सहोदर दाजुभाई) नै नदेखिएको र घटनास्थलमा फेला परेको रडको खन्ती सुनरसी किसानको हुनुपर्छ भन्ने सूचना प्राप्त हुन आएकोले निजहरुको सम्बन्धमा स्थानीयहरुसंग समेत बुझ्दा निजहरु दुवैजना भारततर्फ गएको भन्ने बुझिन आएकोले निजहरुको आफन्त नातागोताहरुसंग समन्वय गरी सोधपुछको लागि पुनः नेपाल झिकाइएको र नियन्त्रणमा लिईएको ।
सोधपुछको क्रममा निजहरुले मिति २०८०/०४/३१गते साँझको अं २०;०० बजेको समयमा सुन्दरलाल किसान मादक पदार्थ सेवन गरी एक्लै हिड्दै हामी(रामजी किसान र सुनरसी किसान) बसिरहेको कल्भर्टमा आइ गालीगलौज गरेको हुँदा सोही निहुँमा झगडा परेको कुरा आरोपितहरुले बताएको र घटना घटाएको कुरा स्वीकार गरेको ।
वारदातमा निजहरुले फलामको रडको खन्ती र सिकल प्रहार गरी शरीरको टाउको,घाटी,हात तथा अन्य बिभिन्न भागमा चोट पुर्याई सुन्दरलाल किसानलाई हत्या गरेको र लाशको व्यवस्थापन गर्ने क्रममा निजहरु दुवैजनाले मृतकलाई कल्भर्ट बाट दक्षिण तर्फ रहेको धानखेतमा घिसार्दै होली पैनीमा लगेर तल पुर्याई झाडी बुट्यानले छोपी वारदातमा प्रयोग गरेको धारिलो हतियार सिकललाई लाश रहेको स्थानदेखि दक्षिणतर्फ पैनीको झाडीमा फ्याकेको कुरा स्विकार गरी बताएको ।
उक्त हतियारको खोजतलास गर्दा निजहरुले भने बताएबमोजिमको स्थानमा फेला परेकोले वरामद गरिएको ।
प्रहरी अनुसन्धानमा आरोपितहरु र मृतकबीचमा लामो समयदेखि पारिवारिक रीसइवी रहेको र आरोपितहरुले निजलाई मार्ने नियतले बेलुकापख होलीपैनीको कल्भर्टमा धारिलो हतियार(सिकल) र खन्तीसहित ढुकेर बसी निजलाई एक्लै फेला पारी निजसंग विवाद गरी धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरेको देखिन आएको र थप अनुसन्धान गर्ने कार्य भईरहेको ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

