
भद्रपुर, ६ भदौ । झापाको बुद्धशान्ति गाउँपालिकामा आजदेखि गाईवस्तुमा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरु भएको छ ।
गाउँपालिकाभरिका करिब १० हजार पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्यसहित आजदेखि बिहान ७ बजेदेखि अभियान शुरु भएको गाउँपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखा अधिकृत कैलाशप्रसाद सिंहले जानकारी दिनुभयो ।
पहिलो चरणमा आजदेखि १, ६ र ७ नं. वडाबाट खोप अभियान शुरु भएको हो । वडा नं. १ मा ७ जना, वडा नं. ६ मा ४ जना र वडा नं. ७ मा २ जना गरी १३ जना भ्याक्सिनेटर एकै साथ परिचालन गरिएको सिंहले बताउनुभयो ।

दोस्रो चरणमा बाँकी रहेका वडा नं. २, ३, ४ र ५ मा क्रमशः भ्याक्सिन अभियान चल्ने गाउँपालिकाले जनाएको छ । सबै पशुमा भ्यासिक्न नलगाएसम्म अभियान जारी रहने गाउँपालिकाका बुद्धशान्ति–१ का वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता अनिल वाग्लेले जानकारी दिनुभयो ।
बुद्धशान्ति गाउँपालिका आर्थिक विकास समितिको सिफारिस र साउन ३२ बसेको कार्यपालिकाको निर्णय बमोजिम लागत साझेदारीमा हाल लम्पी स्किन रोग महामारीको रुपमा फैलिरहेकाले पशुधनको संरक्षण गर्नका लागि अभियान शुरु गरिएको उहाँले बताउनुभयो । सम्बन्धित वडामा सम्पर्क गरेर आ–आफ्नो पशुमा अनिवार्य खोप लगाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
भ्याक्सिनका लागि गाउँपालिकाले प्रतिभ्याक्सिन ११० रुपैयाँ लगानी गर्नेछ भने पशुधनी कृषकले ५० रुपैयाँ तिर्नुपर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



