
झापा, ९ भदौ । झापामा यो वर्षको धान रोपाइँ सकिएको छ ।
जिल्लामा ९८ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत तेजराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा कूल ८७ हजार हेक्टरमा बर्खे धान खेति हुँदै आएकोमा ९८ प्रतिशत अर्थात् ८५ हजार २६० हेक्टरमा रोपाइँ भएको उहाँले बताउनुभयो ।
रोपाइँका बेलामा मौसम केही प्रतिकूल भएकाले रोपाइँ प्रभावित भए पनि गत वर्षकै तुलनामा रोपाइँ भएको उहाँको भनाइ छ । रोपाइँ र मौसमका कारण उत्पादन केही मात्रामा घट्ने देखिएको छ भने हालसम्म धानमा रोग नदेखिए पनि झारको समस्या देखिएको प्रसार अधिकृत भण्डारी बताउनुहुन्छ ।

झापामा अधिकांश किसानले रन्जित, रामनाथ, सर्ना लगायत जातका धान लगाएका छन् भने केहीले स्थानीय जातका र बास्नादार धान रोपेका छन् । अघिल्ला वर्षहरुको तुलनामा मलको अभाव नदेखिए पनि पर्याप्त वर्षा नहुँदा समस्या भएको कृषक बताउँछन् ।
यता, सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रू तीन हजार तीन सय ६२ तोकेको छ । यो मूल्य गत वर्षको तुलनामा रू दुई सय ३१ बढी हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



