
अर्जुनधारा, १२ भदौ । झापाको अर्जुनधारामा नौ हजारभन्दा बढी पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ ।
गत साउन २२ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन भएको खोप अभियानमा नौ हजार दुई सय २५ वटा पशु–चौपायामा खोप लगाइएको नगरपालिकाका पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख
पदमलाल राईले बताए । अभियानमा खोप लगाउन छुटेका चौपायामा पनि हाल खोप लगाउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिका र कृषकको साझेदारीमा सञ्चालन भएको खोप अभियानमा कृषकहरुले चार लाख ६१ हजार चार सय रुपैयाँ लागत सहभागिता जनाएका छन् भने नगरपालिकासको समेत गरी कूल १४ लाख ४० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै, खोप अभियानबाट नगर क्षेत्रका छ अर्ब बराबरको पशुधनको सुरक्षा भएको शाखा प्रमुख राईले बताएका छन् ।

यसैबीच, खोप अभियानको समीक्षा समेत गरिएको छ । उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



