
सन्तोष शर्मा
बनियानी, २६ कात्तिक । झापा हल्दिबारी–१ गोलधापका गणेश पराजुली बाख्रापालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
पराजुलीले राजुलीले ‘प्रगति बोयर बाख्रा फर्म’ सञ्चालन गरेर मासिक रू १ लाख ५० कमाउन सफल भएका हुन् । चार वर्षअघि रू २७ लाख ३५ हजारको लगानीमा पराजुलीले बाख्रा फर्म शुरु गरेको बताउनुभयो । अहिले उहाँको फर्ममा करिब रू १ करोड ५५ लाख लगानी भएको छ । बैंकबाट सरल ब्याजदरमा ऋण लिएर पराजुलीले फर्ममा लगानी गर्नुभएको छ ।
स्वदेशमै केही गरौँ भन्ने सोच आएकाले आफूले बाख्रा पालन व्यवसाय शुरु गरेको बताउनुभयो । ‘शुरुमा कतिले यो बौलायो भने’, विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले उनीहरु नै मेरो प्रशंसा गर्छन् ।’ शुरुमा चितवनका योगेन्द्रबहादुर खड्काले सञ्चालन गरेको जगत एग्रोबाट पराजुलीले अफ्रिकन जातको बोयर बाख्राका पाठा–पाठी ल्याउनुभएको थियो ।
दुई वटा बोयर र केही स्थानीय बाख्राबाट शुरु भएको पराजुलीको फर्ममा अहिले १२४ वटा बोयर जातका बाख्रा छन् । सबै खर्च कटाएर मासिक रू १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको पराजुली बताउनुहुन्छ । ‘आउने सिजनमा ८०÷९० वटा पाठापाठी उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘आगामी सिजनमा मासिक २ लाख ५० हजारभन्दा बढी कमाइ गर्ने लक्ष्य राखेको छु ।’

बोयर जातको बाख्रासँग स्थानीय जातको बाख्रा ‘क्रस’ गराएर समेत पराजुलीले पाठापाठी उत्पादन गर्दै आउनुभएको छ । त्यस्ता पाठापाठी रू ३० हजारदेखि रू ६५ हजारसम्ममा बिक्री भएको पराजुलीले सुनाउनुभयो । त्यस्तै, शुद्ध बोयर पाठापाठी रू २ लाख ५० हजारदेखि रू ३ लाखसम्ममा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । एउटा बोयर बाख्राले दुई वर्षमा तीन पटक पाठा–पाठी पाउने गर्छ ।
उत्पादन लागत घटाउने उद्देश्यले उहाँले चार बिघामा घाँस खेतीसमेत गर्नुभएको छ । ‘एक बिघा आफ्नै जग्गा हो’, उहाँले भन्नुभयो, ‘तीन बिघा भाडामा लिएका छौँ ।’ बाख्रालाई घाँससँगै दाल र मकैको पीठो मिसाएर दिने गरिएको छ । बोयर जातको बाख्रामा बोसोको मात्रा कम हुने भएकाले विश्व बजारमा माग बढिरहेको पराजुलीले बताउनुभयो ।

बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल भएका उहाँलाई कुनै समस्या नभएको भने होइन । पशुपालन गर्दा प्राविधिक समस्या मुख्य रुपमा देखापर्ने गरेको पराजुली बताउनुहुन्छ । ‘बाख्रापालन विधि, रोग, खोर व्यवस्थापन जस्ता कुरा कृषकका मुख्य समस्या हुन्’, उहाँले भन्नुभयो, ‘सरकारले यो विषयमा ध्यान दिनुपर्छ, किसानले सहज रुपमा प्राविधिक सेवा पाउन सके राम्रो मुनाफा लिन सक्छन् ।’
कृषि क्षेत्रमा सरकारले राम्रा योजना ल्याए पनि वास्तविक किसान सेवा पाउनबाट बञ्चित रहेको पराजुलीको गुनासो छ । वास्तविक किसान पहिचान गरेर अनुदान लगायतका सरकारी सुविधा दिइनुपर्ने उहाँले बताउनुभयो ।
पराजुलीले नार्क र जिल्ला पशु कार्यालय झापाले प्रदान गरेको बाख्रा पालनसम्बन्धी तालिम लिनुभएको छ । अहिले उहाँ आफैँले तालिम समेत दिने गर्नुहुन्छ । सरकारले पराजुलीलाई ३६ औँ खाद्य दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत गरेको थियो । त्यस्तै, दर्जनभन्दा बढी विभिन्न स्थानीय संघसंस्थाले समेत सम्मान गरेको उहाँले बताउनुभयो । सरकारले गरेको सम्मानपछि आफूलाई बाख्रा पालनमा थप ऊर्जा मिलेको पराजुलीले सुनाउनुभयो ।
बाख्रा फर्ममा पराजुलीलाई पत्नी कल्पनाले भरपूर साथ दिनुभएको छ । बिहान उठेदेखि बेलुकासम्म बाख्राको स्याहार चाकरमा दिन बित्ने गरेको कल्पनाले सुनाउनुभयो । भन्नुभयो, ‘बिहान उठेदेखि फर्ममा काम गर्छु, म यसबाट सन्तुष्ट छु ।’ फर्ममा तीन जनाले रोजगारी समेत पाएका छन् । आगामी दिनमा फर्ममा लगानी बृद्धि गर्ने लक्ष्य रहेको कल्पनाले सुनाउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


