भद्रपुर, १९ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको भद्रपुरमा आयोजना गरिँदै आएको रथयात्राको तयारी पूरा भएको छ ।
श्रीकृष्ण रथयात्रा उत्सव मूल समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राको तयारीबारे जानकारी दिएको हो । मूल समारोह समितिका अध्यक्ष किरण भारतीले गत वर्षभन्दा पृथक र भव्य तरिकाले रथ यात्रा गर्न लागिएको बताउनुभयो । रथमा रङरोगनसँगै सजावटको काम भइरहेको छ ।
लक्ष्मी नारायण मन्दिरबाट बिहीबार बिहान ११ बजेदेखि शुरु हुने रथयात्रा ज्ञानेचोकदेखि झापा चोक – भानु चोक – संगम चोक – हस्पिटल चोक –सगरमाथा चोक – किराँत कोलोनी हुँदै बिजुली अफिस – लेखनाचोक – एसपी मोड – क्याम्पस मोड – हस्पिटल चोक हुँदै गणेश मन्दिर त्यहाँबा पुनः लक्ष्मी नारायण मन्दिरमा आएर समापन हुनेछ । रथयात्रासँगै लाखेनाच समेत हुनेछ ।
रथयात्रा सबै जातजातिको अपन्त्व ग्रहण हुने गरी विभिन्न जातजातिको झाँकी प्रस्तुत हुने समितिले जनाएको छ । विगत २१ वर्षदेखि भद्रपुरमा जन्माष्टमीको अवसरमा रथयात्रा आयोजना हुँदै आएको छ ।
यता, भोलि बुधबार जन्माष्टमीका दिन भद्रपुर–५ लक्ष्मीनारायण मन्दिर हुने भव्य पूजाको तयारी समेत भइरहेको छ । मन्दिर सजावट, बजार क्षेत्रमा लाइटिङको काम भइरहेको छ ।
मन्दिरमा भक्तजनको आवागमन लगायतको व्यवस्थापनका लागि एक सय जना भन्दा बढी स्वयम् सेवक परिचालन हुनेछन् भने नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशक्त प्रहरीले शान्ति सुरक्षा प्रदान गर्ने छन् ।
रथ यात्राका लागि भद्रपुर नगरपालिका एक लाख रुपैयाँ सहयोग गर्ने जनाए पनि आवश्यकता अनुसार थप रकम सहयोग गर्ने बताएको अध्यक्ष भारतीले बताउनुभयो । समितिका व्यक्तिहरुले व्यक्तिगत रुपमा र विभिन्न दाताहरुबाट सहयोग संलकन भइरहेको जनाइएको छ । हरेक वर्ष जन्माष्टमीको अवसरमा भद्रपुरमा मेला समेत लाग्ने गर्दछ ।
पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष सिता न्यौपाने, सचिव सञ्जय घोष, कोषाध्यक्ष भरत प्रधान, महासचिव राजेश पकुवाल लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।