द्रोण अधिकारी
भद्रपुर, २४ भदौ । बदलिदो जीवनशैलीसँगै नेपालमा हरेक दिन २० जनाले मानसिक रोगका कारण आत्महत्या गर्ने गरेको नेपाल सरकारको तथ्याङ्कले देखाएको छ ।
हरेक वर्ष दुई प्रतिशतभन्दा बढी संख्यामा नेपालमा बढिरहेको आत्महत्याको मूल कारण मानसिक रोग रहेको विज्ञहरूको भनाइ छ । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर नशा तथा मानसिक रोग विशेषज्ञ डा. सन्दर्भ अधिकारीले दिएको जानकारी अनुसार विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् भने नेपालमा हरेक दिन २० जनाको मानसिक रोगका कारण आत्महत्या हुने गरेको हो ।
नेपाल सरकारको तथ्याङ्क अनुसार नेपालका ७ वटा प्रदेश मध्ये कोशी, बागमती र लुम्बिनी प्रदेशमा आत्महत्याको दर उच्च देखिन्छ । जसमा नेपाल प्रहरीको विवरणले नेपालभर आर्थिक वर्ष २०७९÷०८० मा ६ हजार ९ सय ९३ जनाले आत्महत्या गरेका छन् । यो संख्यासित तुलना गर्दा एक दशक अगाडि आत्महत्याको अवस्था आर्थिक वर्ष २०६८÷०७९ मा ३ हजार ९ सय ७७ मात्र देखिन्छ । १५ देखि ४९ वर्ष उमेर समूहको महिला मुत्युको प्रमुख कारण आत्महत्या हुने गरेको समेत नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ ।
हरेक वर्ष आत्महत्या २ प्रतिशतभन्दा बढीकै दरमा बृद्धि भइरहँदा त्यसका पछाडि मानसिक समस्या नै कारक बन्ने गरेको अनुसन्धानले देखाउने गरेको छ । कोशी प्रदेशमा आत्महत्यकाका कारण आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५ सय ५० जनाको आत्महत्याका कारण ज्यान गएको छ । जसमा पुरूषको संख्या ९ सय २९ र महिलाको संख्या ४ सय ५९ जना तथा बालक ६४ जना र बालिका ९८ जनाले आत्महत्या गर्दै ज्यान गुमाएको कोशी प्रदेश प्रहरीको विवरणले देखाएको छ ।
डा. अधिकारीका अनुसार मानसिक समस्या पहिचान गर्न सके आत्महत्या न्युनिकरण गर्न सकिन्छ तर बेवास्ता गर्ने प्रबृत्तिले मानसिक समस्या आत्महत्याको बाटोमा गइरहेको हो । आत्महत्या रोकथामका लागि सरकारले आशा जगाऔं जीवन बचाऔं नारा समेत तय गरेर विभिन्न चेतना मुलक काम गनि गरिरहेको छ तर आत्महत्याको दर घट्न सकिरहेको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।