झापा, २८ भदौ । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका स्थानीयबासीलाई निःशुल्क खानेपानी वितरण थालेको छ ।
गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले निःशुल्क खानेपानी वितरण थालिएको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । “खानेपानी मानिसको आधारभूत आवश्यकता हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाबासीलाई शुद्ध खानेपानी पु¥याउन प्रयास थालिएको छ ।”
शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको संक्रमण हुने र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पनि खानेपानीलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । गाउँँपालिकाले १० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क गरेको छ ।
यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा रू एकसय २० तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महसुल तिर्नुपर्नेछ ।
गाउँपालिकाले विपन्न स्थानीयबासीलाई निःशुल्क धाराको मिटर समेत वितरण गरेको छ । गाउँपालिकाले सात सय ५६ वटा मिटर खरीद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिनुभयो ।
हल्दिबारी गाउँपालिका हाताभित्र हाल तीन वटा खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालित छ भने हल्दिबारी खानेपानी आयोजना अन्तरगत पाइपलाइन विस्तारको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम धामाधम भइरहेको खानेपानी प्रविधिक अधिकारीले बताउनुभयो ।
हाल गोलधाप खानेपानी आयोजना अन्तरगत सात सय ५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् भने जलथल खानेपानी आयोजना अन्तरगत एक हजार छ सय उपभोक्ता लाभान्वित भएका छन् ।
निःशुल्क खानेपानी वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीहरुको तलब र विद्युत् महसुल गाउँपालिकाले उपलब्ध गराउने गरेको गाउँपालिकाका सूचना अधिकारी राजन न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार जना कर्मचारीको तलब मासिक रू १५ हजारका दरले रू ६० हजार र विद्युत् महसुल सरदर मासिक रू ५५ हजार र गोलधाप खानेपानी आयोजनाको तीन जना कर्मचारीको मासिक रू १५ हजारका दरले रू ४५ हजार र विद्युत् महसुल औसतमा रू ३२ हजार उपलब्ध गराउँदै आएको छ । कर्मचारीको तलब र विद्युत् महसुल तिरिदिए वापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।