
दिपक अधिकारी
भद्रपुर, ८ असोज । भद्रपुर भन्सार कार्यालयले वर्षौदेखि गैर कानूनी रुपमा दैनिक ३ हजार ७ सय भन्दा बढी रकम असुल्दै आएको रहस्य खुलेको छ ।
भारतीय सवारी साधनलाई सुबिधाको रसिद लिदा कानूनतः कुनैपनि रकम लाग्दैन । तर, भद्रपुर भन्सारका कर्मचारीले भने हल्का सवारी (कार, भ्यान, जीप) लाई दैनिक ५० र मोटर साइकललाई दैनिक २० रुपैंया लिदै आएको छ । रकम नदिए कर्मचारीले गाली गलौच तथा हातपात मै उत्रने गरेको पीडितहरूको गुनासो रहेको छ । यसरी डर, धम्की र दादागिरीका साथ उठाइएको रकम भने सरकारी राजश्वमा जादैन । यो सबै भन्सार कर्मचारीको खाजश्व हो ।

नेपाल–भारतको सम्झौता अनुसार भारतीय सवारी साधनलाई भन्सार कार्यालय रहेको ठाउँबाट नजिकको बजारसम्म पुगी सोही दिन सोही नाकाबाट फर्कने शर्तमा नेपाल प्रवेश गर्नको लागि दिइने ईजाजत पत्रलाई (सुविधा) भन्ने गरिन्छ । यस्तो ईजाजत पत्र (सुबिधा)–लिंदा कुनै शुल्क लाग्दैन । भन्सारले दिने ईजाजत पत्रमा पनि कतै शुल्क उल्लेख हुँदैन ।
ईजाजत पत्र (सुबिधा)–को पत्रमा सवारी धनीको नाम, सवारीको चेसिस नं., इन्जिन नं., गाडी नं.,सवारी चालकको नाम र चालकको लाइसेन्स नं. उल्लेख गर्नु पर्ने हुन्छ । तर, भन्सारले दिने ईजाजत पत्र (सुबिधा)–को पत्रमा कुनैमा पनि पुरा विवरण लेखिएको हुँदैन । सवारी साधन नै भन्सार कार्यालय लगेर मात्र सो ईजाजत पत्र दिनु पर्ने कानूनी प्रावधान भएपनि कर्मचारीको मिलेमतोमा (बढी रकम दिएर)–अधिकांश सवारी साधन भन्सार कार्यालय नलगी सुबिधाको ईजाजत पत्र दिने गरेको दैनिक सुबिधा लिने गरेको भद्रपुरका एक भारतीय सवारी चालक बताउँछन् ।
भद्रपुर भन्सारका कर्मचारी रञ्जना दाहालका अनुसार भद्रपुर भन्सारबाट दैनिक ६५ देखि ९० वटासम्म हल्का सवारी साधनले सुविधाको ईजाजत लिने गरेका छन् । उनी भन्छिन्–‘दैनिक ६५ देखि ९० वटासम्म हल्का सवारी साधनले सुविधाको ईजाजत लिने गरे पनि एभरेजमा ७५ वटा राख्नुस् न ।’
सुविधाको ईजाजत लिंदा कति शुल्क लाग्छ नि ? भन्ने हाम्रो प्रश्नमा उनी निर्धक्कसाथ भन्छिन्–‘हल्का सवारीको ५० रुपैंया र मोटर साइकलको २० रुपैंया लाग्छ ।’ सुविधाको रकमको रसिद पनि दिनुहुन्छ कि ? उनले फट्टै जवाफ दिइन्–‘दिदैनौं , पैसा बिना रसिद पनि दिदैनौं ।’ सुबिधाको रसिद दिंदा रकम लिनु कानून सम्वत् हो त ? भन्ने हाम्रो प्रश्नमा उनको जवाफ थियो–‘कानूनको विषयमा हाकिमलाई सोध्नुस्, हामी त लगाई अह्राएको काम गर्ने कर्मचारी हो ।’
यसै विषयमा भद्रपुर भन्सारकार्यालयका प्रमुख अमित तिवारीसँग बुभ्mदा सुविधाको ईजाजत लिदा कुनै शुल्क नलाग्ने बताए । सुविधाको ईजाजत लिदा कुनै शुल्क नलाग्ने भए तपाईकै कार्यालयमा तपाई मातहतका कर्मचारीले खुल्लेआम सुविधाको ईजाजत लिदा ५०÷५० रुपैंया लिइरहेका छन् त ? भन्ने हाम्रो प्रश्नमा ‘आफूलाई थाहा नभएको ’ भन्दै पन्छिए । उनको जवाफ दिने तरिका र प्रस्तुतीबाट बुझिदै थियो, उनलाई सबै थाहा छ । र, पनि आपूm बच्न ‘आफूलाई थाहा नभएको’ भन्दै थिए । कर्मचारी दाहालले ढुक्कले हाकिमलाई सोध्न भन्नु भनेको त्यो रकमको भागीदारी कार्यालय प्रमुख पनि छन् ।
भद्रपुर भन्सारको सुविधाको ईजाजत पत्र रसिद दिने ठाउँमा आइतबार रञ्जना दाहाल भेटिए पनि अधिकांश समय सो फाँटमा रवी राजवंशी रहन्छन् । स्थानीय व्यापारीका अनुसार रकम उठाउने मुख्य व्यक्ति नै राजवंशी हुन् । लामो समयदेखि भद्रपुर भन्सारमै रहेकोले कसैलाई नटेर्ने, रकम नदिए गाली गलौचदेखि हातपातमै उत्रने गरेको एक भारतीय सवारी चालक बताँउछन् ।
भद्रपुर भन्सारका कर्मचारी रञ्जना दाहालकै अनुसार पनि दैनिक ७५ वटा हल्का सवारी साधनको ५० रुपैंयाको दरले दिनमा ३,७५०।– हुन्छ । ३० दिनमा १,१२,५००।–हुन्छ, ३६५ दिनमा १३,६८,७५० हुन्छ । अनि यत्रो रकम सबै भन्सारका कर्मचारीले झ्वाम् पार्छन् । यो रकमको कहि कतैबाट खोजी छानविन हुँदैन ।
भद्रपुर भन्सारको यो गैर कानूनी रकम असुलीको बारेमा अधिकांश भद्रपुरका व्यापारी, प्रहरी, प्रशासन सबैलाई थाहा छ । तर, पनि कहीँ कतैबाट आवाज उठेको देखिदैन । व्यापारीहरू त्यही भन्सारबाट करोडौँको सामान लाखमा देखाएर भन्सार काट्नु पर्छ, उनीहरूको लागि ५–१० हजारको समेत मतलव हुँदैन ५० रुपैंयाको त झन् के मतलव । नेपाल प्रहरी र सशस्त्र प्रहरी आफै भन्सारका गेटमा २०–५० चिया खान व्यापारीसँग मागिरहेका हुन्छन् अनि भन्सारको अनियमितताको विषयमा बोल्ने ठाउँदै भएन । एक पल्ट ट्राफिक प्रहरीले भद्रपुर भन्सारमा गएर भारतीय सवारी साधनलाई सुविधा काट्दा रकम लिन नमिल्ने बताए पछि भद्रपुर भन्सारले वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुखलाई भनेर ट्राफिकलाई सम्झाउन लगाएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


